श्रीलंकाको दुई दिने भ्रमण सकेर आज केही घण्टाका लागि नेपाल आउँदै जापानी विदेशमन्त्री – Nepal Press

श्रीलंकाको दुई दिने भ्रमण सकेर आज केही घण्टाका लागि नेपाल आउँदै जापानी विदेशमन्त्री

के भन्छन् कूटनीतिक जानकार

काठमाडौं । श्रीलंकाको दुई दिने भ्रमण सकेर आज जापानका विदेशमन्त्री नेपाल आउने भएकी छन् । विदेशमन्त्री योको कामिकाबा आज नेपाल आउने भएकी हुन् । जापानबाट नेपाल आउने चौथो विदेशमन्त्रीको रुपमा उनी केही घण्टा नेपालमा आउने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा हुने ठोस सम्झौता तथा समझदारीहरु सार्वजनिक गरेको छैन । तर, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा जापानी विदेशमन्त्री नेपाल आउने सूचना परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परराष्ट्रको प्रेस विज्ञप्ती अनुसार जापानी विदेशमन्त्री योको कामिकाबाले प्रधानमन्त्री प्रचण्डदेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मलाई भेट्ने बताइएको छ ।

अहिलेको जापान पहिलेको जापान होइनः पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे

हालसालै ब्रेकथू कार्यक्रम सम्पन्न भएको नागढुंगा सुरुङमार्गको दाता जापानका राजदूत मुखर देखिएका थिए । उनले सुरुङमार्ग ब्रेक थू भएको भोलिपल्ट अर्थात् वैशाख ४ गते सार्वजनिक रुपमा भनेका थिए, ‘जापान जे भन्छ त्यो गर्छ ।’ आफ्नो भाषाको व्यापक प्रबर्धन गर्ने देश भनेर चिनिने जापानी प्रधानमन्त्री फमिओ किसिदाले केही समय अगाडि अमेरिकाको भ्रमण गरे ।

उनले अमेरिकी कंग्रेसको साझा सत्रमा गत चैत २९ अर्थात अप्रिल ११ मा अंग्रेजीमा सम्बोधन गरे । सम्बोधनमा एक ठाउँ ताली पाउनेगरि उनले भनेका थिए, ‘जापान अब अमेरिकाको क्षेत्रिय साझेदारबाट विश्व साझेदार भएको छ ।’

अमेरिकी सदनदेखि नेपाली संचारमाध्यममा बोलेका प्रधानमन्त्रीदेखि राजदूतसम्मको भनाईले जापान मुखर भएको आएको देखिएको छ । यो कुरालाई नजिकबाट नियालिरहेका छन् पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे । उनले अहिलेको जापान पहिलेको जापान नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘जापानको लक्ष्य, जापानको विदेश सम्बन्ध र जापानको सुरक्षा रणनीति अहिले फरक भएको छ ।’ जापानी विदेशमन्त्रीको नेपाल भ्रमण दुइपक्षीय हो वा अरु केही हो भन्नेमा नेपाल चनाखो हुनुपर्ने पाण्डेले संकेत गरे ।

नेपालमा जापानी विदेशमन्त्रीले केही घण्टा मात्रै बिताएको तर श्रीलंकामा दुई दिनको कार्यक्रम राखेको बारेमा पाण्डेले त्यसको अर्थ भएको बताए । उनले भने, ‘जति दिन भ्रमण गरेपनि उच्चस्तरिय भेटको कुरा मुख्य हो । त्यसमा फाइदाजजनक हुनेखालको कत्तिको तयारी छ त्यसमा निर्भर हुन्छ ।’ नेपाल र जापानको मित्रताको इतिहास हेर्दा भने भ्रमण एक दिनको पनि पुरा नहुन भने राम्रो सन्देश नगएको पाण्डेले बताए ।

कृषि, सीप, हिमाल र भूकम्प प्रतिरोधमा नेपालले जापानी साथ माग्नुपर्छः पूर्व जापानी राजदूत भट्टराई

नेपाल सरकारले जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा आउको सवालमा जापानका लागि पूर्वनेपाली राजदूत मदन कुमार भट्टराईसँग सल्लाह लिएको छैन । सन १९७७ मा पहिलोपटक जापानी विदेशमन्त्री आउँदा उनले सरकारी अंग्रेजी दैनिक राइजिङ नेपालको लागि अन्तरवार्ता गरेका थिए । सन २०१२ मा जापानी विदेशमन्त्री आउँदा उनी जापानको लागि राजदूत थिए । तेस्रोपटक सन २०१९ मा जापानी विदेशमन्त्री नेपाल आउँदा उनले सार्वजनिक रुपमा नजिकबाट हेर्ने काम गरे ।

नेपालका पूर्वपरराष्ट्र सचिवदेखि प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीका परराष्ट्रविज्ञको रुपमा समेत काम गरेका भट्टराईले जापानी विदेशमन्त्री आउँदा नेपालले कूटनीतिक चातुर्यता र परिपक्कता देखाएमा चार क्षेत्रमा दरिलो सहयोग लिन सक्ने बताए । खासगरि कृषि, मध्यम खालको सीप, हिमाल तथा भूकम्प प्रतिरोधमा जापानी सहयोग निर्णयक हुने उनी बताउँछन् ।

जापानले चिलीलाई साल्मोन माछामा गरेको सहयोगले नर्वेको अधिपत्यमा प्रतिस्पर्धा भएको तथा ब्राजिललाई भटमासमा गरेको सहयोगले अमेरिका भन्दा धेरै उत्पादन गरेको भन्दै उनले नेपालमा त्यस्तै केहीमा सहयोग गर्न सक्ने बताए । जापानमा धेरै खपत हुने तथा नेपालमा उत्पादन हुने कुरामा यस्तो गर्न सकिने उनले बताए । जापानीहरुले नेपाल, भारत तथा बंगलादेशमा भात खाएजस्तै फापर खाने भन्दै त्यस्ता क्षेत्रमा सहयोग माग्न सकिने बताए ।

नेपालीलाई जापान तथा खाडी क्षेत्रमा जान चाहिने मध्यम खालका सीपमा पनि जापानले सहयोग गर्न सक्ने बताएका उनले जापानमा हिमालको दिवसमा बिदा हुने भन्दै हिमाली आरोहण तालिम तथा उद्दारमा पनि राम्रो सहयोग लिन सक्ने बताए । सबै खालका भूकम्प जितेको जापानले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा सहयोग गर्न सक्ने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *