बझाङ उपनिर्वाचन: एमाले र कांग्रेस जित्ने होडमा, माओवादी र नेकपा एस अस्तित्व जोगाउने जोडमा – Nepal Press

बझाङ उपनिर्वाचन: एमाले र कांग्रेस जित्ने होडमा, माओवादी र नेकपा एस अस्तित्व जोगाउने जोडमा

कस्तो छ अन्य दलको अवस्था?

बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढ्दो छ । निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघिसम्म दलहरूले प्रचार प्रसार तीव्र पारेका छन् ।

यहाँ कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी सहित १२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली काङ्ग्रेसबाट अभिषेक सिंह मुख्य प्रतिस्पर्धी हुन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

तर, यी दुबै पार्टीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का पनि तीव्र चुनावी प्रचार प्रसारमा देखिएका छन् ।

जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरलाई चार अङ्क कटाउन पनि सकस हुने देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट , नेपाली जनता दलबाट अशोक सुनारको अवस्था पनि अन्य साना दलहरू भन्दा फरक हुने देखिँदैन । यी मध्ये केहीको धरौटी समेत जफत हुन सक्ने बताइन्छ ।

एमालेबाट निर्वाचन लड्दै गरेका भण्डारी बझाङ अध्यक्ष हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका अभिशेष सिंह कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् ।

नेपाली काङ्ग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा उनकै छोरा अभिशेष सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

जयपृथ्वी नगरपालिका– ५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाएका थिए भने अभिषेक २०१ मत ल्याउँदै तेस्रो भएका थिए ।

एमाले र काङ्ग्रेसबीच निर्वाचन को जित्ने भनी प्रतिस्पर्धा चलिरहँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने आफूले विगतमा पाएको मत मात्रै सुरक्षित गर्न सक्दा पनि उपलब्धी हुने गरि अगाडी बढेको देखिन्छ ।

दुई दिनसम्म चुनावी प्रचार प्रसारमा हिडेका माओवादी नेताहरुले बझाङमा आफ्नो पार्टी पहिलो र दोस्रो पनि नहुने निष्कर्स निकालेर निस्किएका छन् । उनीहरुलाई आफ्नो पार्टीकै सबै भोट मात्रै पनि आफ्नो उमेदवारले पाउने कि नपाउने भन्ने चिन्ता छ ।

यता नेकपा एकीकृत समाजवादीको अवस्था पनि त्यो भन्दा फरक छैन । निर्वाचित हुन एमाले र काङ्ग्रेसको प्रतिस्पर्धा चल्दा माओवादी र नेकपा एकीकृत समाजवादी तेस्रो र चौथोको लागि घम्साघम्सी हुँदै छ ।

२०५६ को आमनिर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार व्यहोरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।
२०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो ।

२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ पछि एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेशसभा– १ मा एमाले र २ मा माओवादी केन्द्रले जित्यो ।
एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार व्यहो¥यो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभामा एमाले नील भयो ।

प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम प्रतिस्पर्धीमा कांग्रेस छ । केन्द्र देखी प्रदेशसम्म एमाले, माओवादी र नेकपा एकीकृत समाजको गठबन्धनको सरकार हुँदा बझाङमा भने यी दुबै पार्टी आमनेसामने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर