किसानको धन: काठमाडौंमा सात तल्ले घर, दाइजोमा २० तोला सुन – Nepal Press

किसानको धन: काठमाडौंमा सात तल्ले घर, दाइजोमा २० तोला सुन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त हुनुभएको चार दिनमै उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

विवरणअनुसार मन्त्री श्रेष्ठको प्रशस्त जग्गा–जमीन र धनदौलत देखिएको छ । कम्युनिष्ट पार्टीका नेताले विवाहमा २० तोला सुन लिएको विवरणमा उल्लेख गरेका छन् । योसमेत उनीसँग कुल ७० तोला सुन रहेको छ, जसको अहिले बजारमूल्य ६३ लाखभन्दा बढी हुन आउँछ ।

मन्त्री श्रेष्ठको काठमाडौंका तीन स्थानमा जग्गा छन् । ती जग्गाको खरिद मूल्य श्रेष्ठले विवरणमा उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा भएको जग्गा उनले ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसामा खरिद गरेका थिए ।

त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ६९ लाख रहेको विवरणमा उल्लेख छ ।

मन्त्री श्रेष्ठका काठमाडौंमै दुईवटा घर छन् । काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर छ भने काठमाडौँ–९ धापासीमा सात तलाको व्यवसायिक घर रहेको छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा जम्मा नौ करोड ६९ लाख ७३ हजार ५० रुपैयाँ मूल्य बराबरको रहेको उल्लेख छ ।

उनले सेयरमा पनि ठूलो रकम लगानी गरेका छन् । विभिन्न कम्पनीमा उनको दुई करोड १७ लाख, २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । यस्तै, उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु. १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका छन् ।

श्रेष्ठले आठ बैंकमा खाता खोलेर रकम जम्मा गरेका छन् । श्रेष्ठका अनुसार प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा उनका खाता छन् । त्यस्तै उनकी श्रीमतीका नाममा ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको विवरणमा उल्लेख छ ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

को हुन् किसान श्रेष्ठ ?

किसान श्रेष्ठको नामले परिचित कृष्णकुमार श्रेष्ठ हाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । एमालेमा छँदा केपी ओलीका कट्टर समर्थक रहेका किसानले पार्टीमा उत्पन्न विवादपछि अन्तिम समयमा कित्ता परिवर्तन गरेका थिए ।

नेपाल समुहमा प्रवेश गर्दैै उनले पार्टी ह्वीप विपरित देउवा सरकारलाई विश्वासको मत दिएका थिए । त्यसैको पुरस्कारस्वरुप उनलाई मन्त्री पद प्राप्त भएको हो ।

गत प्रतिनिधिसभा चुनावमा तनहुँ १ बाट कांग्रेसका हस्ति रामचन्द्र पौडेललाई ६ हजारभन्दा बढी भाेटले पराजित गरेपछि किसान चर्चामा आएका थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका किसान पूर्व म्यानपावर व्यवसायी हुन् । उनी जग्गाकाे काराेवारमा पनि सक्रिय थिए ।

श्रेष्ठ एमाले छँदा नेता महेश बस्नेतसँग निकटस्थ मानिन्थे । १० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवकाे ‘अपहरण काण्ड’ मा उनी मुछिएका थिए ।

सांसद बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग मिलेर श्रेष्ठले यादवको ‘अपहरण’ गरेको आरोप लागेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद विघटन गर्दा उनी त्यसको समर्थनमा उभिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *