प्रदेश २ का सीमानाकामा एसएसबीको अवरोध कायमै, दसैं मान्न घर फर्किनेलाई सास्ती – Nepal Press

प्रदेश २ का सीमानाकामा एसएसबीको अवरोध कायमै, दसैं मान्न घर फर्किनेलाई सास्ती

जनकपुरधाम । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द प्रदेश २ का भारतसँगको सीमानाका नखुल्दा आवतजावतमा समस्या भएको छ । सरकारले नाका खोल्ने खोल्ने निर्णय गरेको एक साता बितिसक्दा पनि सीमा क्षेत्रमा आवागमन सहज नभएको हो ।

भारती सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण प्रदेश २ का नाकाहरु अझै ठप्प छ । ठूला नाकाबाट सर्वसधारण पैदल आवत–जावत गरिरहेका छन् ।

महोत्तरीको मुख्य नाका भिट्ठामोडमा खासै चहलपहल छैन । विगतका वर्षहरुमा दशैंका बेला यो नाकामा अत्यधिक भीडभाड हुन्थ्यो । तर गाडी नचल्दा नाका सुनसान छ ।

भारतीय बजारबाट भिट्ठामोड नाका भएर पैदल नेपालतर्फ आएका महादेव यादवले गाडी नचल्दा समस्या भएको सुनाए । ‘तरकारी, तेल र मसलाहरु लिन उताको बजार गएको थिएँ । जलेश्वरमा सामान महँगो हुनाले प्रायः उतैबाट भान्साका समानहरु ल्याउँछु’, महोत्तरी जलेश्वरका उनले भने, ‘साइकल चढेर पनि उता जान दिएनन्, एसएसबीले रोक्छन् ।’

नेपाल सरकारले नाका खोलेको विषयमा एसएसबी अनभिज्ञ छ । भिट्ठामोड नाकामा खटिएका एक एसएसबीले नेपालको गाडी प्रवेश गर्न दिने निर्देशन नआएको बताए । नेपालले निर्णय गर्दैमा नाका नखुल्ने उनको भनाइ थियो ।

सिरहाको माडर नाका पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैन । ‘एसएसबीले मन लागे गाडी आउन दिन्छन्, मन नलागे आउन दिँदैनन्’, सिरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल भन्छन्, ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारतबाट यात्रुवाहक गाडी आउदा पनि आपत्ति छैन । तर एसएसबीले नै आउन दिइरहेका छैन ।’

धनुषाको जटही नाका पनि सुनसान छ । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थलमार्गबाट धनुषा प्रवेशका लागि जनकपुर, जटही, महिनाथपुर, इनर्वा, दुहबी र धनौजी भन्सार कार्यालयलाई तोकेको छ । ती कुनै पनि नाका भएर सवारी साधन आउने–जाने गरेका छैनन् ।

प्रदेश २ को सबभन्दा ठूलो नाका पर्साको बीरगञ्जमा भने स्वास्थ्य मापदण्ड पालना गरेर भारतीय यात्रुबाहक सवारीहरु भित्रिन थालेको छ । झण्डै डेढ वर्षपछि भारतबाट गाडीहरु आउन थालेपछि बीरगञ्जका व्यवसायी उत्साहित बनेका हुन् । तर यो नाकाबाट पनि नेपाली सवारीसाधन भारत जान पाएका छैन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वीरगञ्ज नाकामा कुनै किसिमको अवरोध नरहेको बताए । उनले भने, ‘मालवाहक सवारी त सधैं आउथ्यो । तर अब स्वास्थ्य मापदण्डको पालना गरेर यात्रुबाहक सवारी पनि आउन थालेको छ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले भारतको बिहारमा संक्रमण घटिसकेकाले गाडी आवत जावतको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘भारतबाट मात्र सवारी आएर हुँदैन । नेपाली सवारी पनि भारतीय बजार पुग्ने वातावरण सरकारले बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर