बुद्ध एयरको जहाजमा बारम्बार समस्या, सेकेन्डह्यान्डले दियो सास्ती – Nepal Press

बुद्ध एयरको जहाजमा बारम्बार समस्या, सेकेन्डह्यान्डले दियो सास्ती

काठमाडौं । आन्तरिक उडानमा अब्बल कम्पनीका रुपमा दरिएको बुद्ध एयर । तर पछिल्ला दिनमा एकपछि अर्को समस्याका कारण यो कम्पनीको साख गिर्दो छ ।

बिमान यात्रा सदैव संवदनशील मानिन्छ । यसमा आउने सानो समस्याले पनि ठूलो जोखिम पैदा गर्छ । बुद्ध एयरले यस्तै साना समस्याहरुलाई न्यूनीकरण गर्न नसक्दा यात्रुहरु यस कम्पनीसँग झस्किन थालेका छन् ।

बुद्ध एयरका दुईवटा जहाजमा हिजो सोमबार एकै दिन समस्या देखियो । विहान ७ बजे पोखराका लागि उडेको जहाजको ककपिटमा धुवाको गन्ध आएपछि पाइलटले फर्काएर काठमाडौं अवतरण गराए । यो विषयलाई बुद्ध एयरले ढाकछोप नै गर्न खोज्यो । तर, केही घण्टापछि विराटनगरका लागि उडेको बुद्धको अर्को ९ एन-एएनआइ जहाजमा आएको समस्या भने लुक्न सकेन ।

पाङ्ग्रा नखुलेपछि जहाज विराटनगरमा ल्याण्ड हुन नसकी २ घण्टासम्म इन्धन सक्न आकाशमा नै उडिरह्यो । अन्ततः काठमाडौंमा सुरक्षित अवतरण भयो । तर, त्यतिञ्जेल जहाजभित्र रहेका यात्रुहरुको होसहवास उडिसकेको थियो । उनीहरु भगवान पुकारिरहेका थिए । कोही यात्रु त ढोकाबाट तल हाम्फाल्नेसमेत चेष्टा गर्दै थिए ।

कुनै पनि विमानमा उडानको क्रममा गम्भीर समस्या आयो वा दुर्घटना भयो भने त्यसको कारण खोजी गर्न प्राविधिक छानविन गरिन्छ । यसमा कम्पनी आफै, नियामक निकायको सेफ्टी विभाग तथा मन्त्रालयले छानविन गर्छन् र समस्या पत्ता लगाउँछन् । त्यसकै आधारमा समस्या समाधान गरेपछि मात्रै उक्त जहाजलाई फेरि उडानमा पठाउने गरिन्छ ।

तर, समस्या देखिएको बुद्ध एयरको विमानलाई २४ घण्टाभित्रै उडान अनुमति दिइएको छ । के कारणले समस्या उत्पन्न भएको थियो भन्ने रिपोर्ट आएकै छैन । नियामक निकाय प्राधिकरणले भने आफ्नो प्राविधक टोलीले जहाजको जाँचबुझ गरेर उडाउन अनुमति दिएको बताएको छ ।

पटक-पटक समस्या

बुद्ध एयरको विमानमा यसअघि पनि बारम्बार समस्या आउने गरेको छ । गन्तव्यमा पुगेर अवतरण गराउन नसकि फर्काउने क्रम दोहोरिइरहेको छ ।

गत साउन १० गते काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो । जहाजको हाइड्रोलिकमा समस्या भएपछि काठमाडौंमा अवतरण गरिएका हो ।

यसैगरी, केहीं समयअघि काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्धको जहाज पनि नेपालगञ्जमा ल्याण्ड नगरी काठमाडौंमा ल्याएर अवतरण गरिएको थियो । २०७० सालअघि बुद्ध एयरका विमानमा पटक-पटक समस्या आउनुका साथै दुर्घटनासमेत भएका थिए । एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ ले पनि बुद्ध एयरलाई कमजोर रेटिङ दिएको थियो ।

प्राविधिक समस्या देखिएका जहाज धेरै पुराना

यस कम्पनीमा अहिले रहेका केही जहाज धेरै पुराना भएकाले पनि समस्या निस्किएको जानकारहरु बताउँछन् । बुद्ध एयरका समस्या आएका दुवै जहाज १४ वर्ष र २४ वर्ष पुराना हुन् । यी दुवै जहाज कम्पनीले सेकेन्ड ह्यान्डका रुपमा किनेका जहाज हुन् ।

९ एन-एएनआइ १४ वर्ष परानो जहाज हो भने पोखरा उडान भर्दा समस्या आएको जहाज २४ वर्ष पुरानो हो । विराटनगर उडेको ९ एन-एएनआइ जहाज बुद्धले भारतको किङफिसर कम्पनीबाट किनेर ल्याएको हो । यस्तै पोखराका लागि उडाइएको जहाज बुद्धले सन् २०१० मा भारतकै एयर डेकनबाट किनेको थियो ।

जहाज कति पुरानोसम्म नेपालमा चलाउन पाइन्छ भन्ने मापदण्ड नभएपछि इन्जिनले राम्रो काम गरुन्जेलसम्म चल्न सक्ने बताउँछन् त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका प्रवक्ता रेञ्जी शेर्पा । जहाजको इन्जिन, पंखा लगायतका पाट पूर्जाको आफ्नै आयु हुने र त्यो आयु सकिएपछि चलाउन नमिल्ने उनको भनाइ छ ।

बुद्ध एयरका जहाजमा समय-समयमा समस्या आइरहे पनि कम्पनीले यसलाई टालटुल मात्रै गर्दै आएको छ । नियामक निकाय उड्डयन प्राधिकरणले पनि वास्ता गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर