काठ चोर्दाचोर्दै भेटियो नगरपालिकाको जेसिबी : चालक पक्राउ, जेसिबी बरामद – Nepal Press

काठ चोर्दाचोर्दै भेटियो नगरपालिकाको जेसिबी : चालक पक्राउ, जेसिबी बरामद

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका– ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवाको काठ चोरेर भाग्दै गर्दा जेसीबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको जेसिबी गोलबाजार नगरपालिकाको भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

ना १ ग ७०६ नम्बरको जेसीबी र चालक श्रवण कुमार साहलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका हुन् । वडाध्यक्ष रामपुकार कामतीको निर्देशनमा जेसिबीमा राखेर चालक साहले सोमबार राति काठ चोरेर लगिरहेका बेला स्थानीयले नियन्त्रणमा लिएका थिए ।

राति नै काठ, जेसिबी र चालक साहलाई प्रहरीको जिम्मा लगाइएको थियो । जेसिबीसहित चालक र काठ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

वनमा हावाहुरीको समयमा खसेको काठ संकलन गरेर एकठाउँमा राख्न सोमबार नगरपालिकाको जेसीबी मगाइएको थियो । संकलन गरिएको काठमध्ये एउटा ठूलो तौलको सालको गोलिया जेसिबीमा राखेर लगिरहेका बेला पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीयले बताएका छन् ।

स्थानीय सकलदेव सिंहका अनुसार हावाहुरीले ढालेको सखुवा र अन्य प्रजातिका करोडौं रुपैयाँ बराबरको काठ थियो ।

काठसहित जेसिबी र चालकलाई पक्रेर प्रहरीलाई बुझाएका स्थानीयले वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् । तर वडाध्यक्ष कामतीले यस विषयमा प्रतिक्रिया दिन मानेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर