ओलीको आरोपपछि चौधरी ग्रुपले तथ्यांक देखाउँदै भन्योः १ वर्षमा १४ अर्ब राजश्व तिर्‍यौं – Nepal Press

ओलीको आरोपपछि चौधरी ग्रुपले तथ्यांक देखाउँदै भन्योः १ वर्षमा १४ अर्ब राजश्व तिर्‍यौं

काठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको  भन्दै ग्रुपले सो दावी गरेको हो ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको केन्द्रीय समिति वैठकमा बोल्दै ‘ठूला उद्योगपतिहरुले नै सरकारलाई कर नतिर्ने गरेको आराेप लगाएका थिए । ओलीको आरोप परोक्षरुपमा आफूहरुमाथि भएको महसुस गर्दै चौधरी ग्रुपले स्पष्टीकरण दिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा आफू अन्तरगतका उद्योग व्यवसायले १४ अर्ब २८ करोड रूपैयाँभन्दा बढी राजश्व योगदान गरेको ग्रुपले जनाएको छ ।

‘एउटा ब्यापारिक समुहबाट सरकारको राजश्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान हो,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेस सांसद एवं ग्रुपका अध्यक्ष विनोद चौधरीले कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा राजश्वमा आफूहरुले उल्लेख्य योगदान गरेको बताए ।

‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

विगत चार आर्थिक वर्षमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको ग्रुपले जनाएको छ । चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी रहेको छ । यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

‘यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो, जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी भने, ‘हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक बर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ ।’

चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले यदि प्रधानमन्त्री भईसकेको व्यक्तिलाई यस बिषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरु केही नहुने प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर