पलेशालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सम्मान – Nepal Press

पलेशालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सम्मान

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रूपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

पारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कास्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग पराजित भएकी थिइन् ।

त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् । पारालिम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको ५ औं स्थानमा उक्लिएकी छन् । त्यसअघि पलेशा वरीयताको १३ औं स्थानमा थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर