कांग्रेसमा चार पुस्ताको प्रतिस्पर्धा- ग्रासरुटबाट ‘अन्डर ट्वान्टी’को दबाब – Nepal Press

कांग्रेसमा चार पुस्ताको प्रतिस्पर्धा- ग्रासरुटबाट ‘अन्डर ट्वान्टी’को दबाब

विश्लेषक भन्छन्- हजुरबा पुस्ताको वानप्रस्थान, नेतृत्वमा युवालाई स्थान

काठमाडौं । दैलेखकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको महाधिवेन प्रक्रिया शुरु भएसँगै सामाजिक सञ्जालमा भाइरल भइन् । दुल्लु नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएसँगै उनी राष्ट्रिय मिडियाको न्युजमेकर नै बनिन् ।

स्वस्तिकापछि कांग्रेसका ‘अन्डर ट्वान्टी’ पुस्ता धमाधम विभिन्न जिल्लाका वडा अधिवेशनहरुमा हस्तक्षेपकारी भूमिकामा देखिन थालेका छन् । यो भनेको कांग्रेसमा युवा पुस्ताको हस्तक्षेप हो कि होइन अलग कुरा हो तर ८० छुन लागेका हजुरबा पुस्ताका लागि दबाब भने अवश्य हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएसंगै कांग्रेसको आन्तरिक संरचना पनि निर्वाचनमय भएको छ ।

पालिकादेखि केन्द्रीय समितिका दावेदारसम्म आ-आफ्नो चुनावी प्रचारमा छन् । केन्द्रीय नेतृत्वका लागि शीर्ष नेताहरुबीच जति प्रतिस्पर्धा छ, तल्लो तहको नेतृत्वका लागि पनि तलसम्मै प्रतिस्पर्धा जारी छ । केन्द्रीय सभापतिका लागि साढे ७ दशकको इतिहास बोकेको कांग्रेसभन्दा पाका नेताहरु प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेस नेतृत्वमा दावी गर्नेमा ७५ वर्ष नाघेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । सभापतिमै ७० वर्ष नाघेका गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलादेखि डा.शेखर कोइरालसम्मले दावी गरेका छन् ।

६० नाघेका नेताहरु विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमै दावी गरिरहेका छन् । सभापतिमा दावी गर्नेमध्येका सबैभन्दा कान्छा कल्याण गुरुङ नै ५० वर्ष नाघिसकेका छन् । पदाधिकारीमा दावी गर्ने अधिकांश नेताहरु पनि ५० हाराहारी वा सोभन्दा बढी नै उमेरका छन् ।

केन्द्रीय नेतृत्वका लागि पाकाहरुको प्रतिस्पर्धा भएपनि कांग्रेसको तल्लो संरचनामा युवाहरुको आकर्षण बढेको छ । विद्यार्थी राजनीतिमा सक्रिय अधिकांश युवाहरु कांग्रेसको स्थानीय अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कांग्रेसको नेतृत्व छनोट प्रक्रियामा अत्यन्तै प्रभाव राख्ने क्षेत्रीय प्रतिनिधिको झण्डै ६० प्रतिशत हिस्सा ४० वर्षभन्दा कम उमेरका नेताहरुले ओगटेका छन् । वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको परिणाम हेर्दा २५ वर्षमुनिकै युवाहरु पनि कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । उनीहरुले पालिका, क्षेत्र र जिल्लाको नेतृत्व प्रत्यक्ष रुपमा छान्नेछन् । त्यस्तै केन्द्रीय नेतृत्वका लागि मताधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न वा छान्न ती युवा क्षेत्रीय प्रतिनिधिहरु निर्णायक हुनेछन् ।

हजुरबा पुस्तालाई वानप्रस्थानको दबाब- आचार्य

देशकै पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसलाई ‘वृद्धहरुको पार्टी’ भनेर आलोचना गर्ने गरिएको पाइन्छ । यद्यपि तल्लो तहको अधिवेशनले कांग्रेसमा युवाहरु आकर्षण यथावत रहेको स्पष्ट पार्छ । मतदाता मात्रै नभएर युवाहरु आफै नेतृत्वमा आउन थालेका छन् । यसबाट कांग्रेसको ‘ग्रास रुट’मा युवाहरुको पकड बढेको देखिन्छ ।

कांग्रेसको तल्लो संरचनामा युवा वर्चस्व हुनुले पार्टीको रुपान्तरणमा मद्दत पुग्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको दावी छ । २०४६ सालपछि राज्यसत्ता र पार्टीसत्तामा प्रभाव राख्ने नेताहरुप्रति कांग्रेसमा आकर्षण घट्दै गएको आचार्य बताउँछन् ।

‘पछिल्लो ३ दशक जसले पार्टी र देश हाँके उनीहरुप्रति आम कांग्रेसीको भरोसा टुटेको छ । त्यसैले पार्टी सभापतिमा जति नै पाका नेताहरुले दावी गरेपनि तल्लो तहबाट नातिपुस्ताले दवाव बढाएको छ’, आचार्यले नेपाल प्रेसससंग भने ।

सभापतिमा दावी गरेका केही नेताहरुले अर्को महाधिवेशनमा युवा नेताहरुलाई रोक्न नसकिने धारणा सार्वजनिक रुपमै राखिसकेका छन् । यहीकारण १४ औं महाधिवेशन कांग्रेसको पहिलो र दोस्रो पुस्ताका लागि ‘अन्तिम लडाइँ’ हुनसक्छन् ।

‘कांग्रेसका लागि १४ औं महाधिवेशन धेरै नै युगान्तकारी हुनेवाला छ । कांग्रेसको आजसम्मको विशेषता र सरंचना नै फेरिने वाला छ । यो परिवर्तनका लागि प्रसव पीडाजत्तिकै संघर्ष कांग्रेसमा भइरहेको छ । हजुरवुवा पुस्ताले वानप्रस्थान लिने र नाति पुस्ताले पार्टी चलाउने स्थिति बन्दै गरेको छ’, आचार्यले भने ।

सभापतिमा पाका, महामन्त्रीमा युवा

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मुख्य प्रतिस्पर्धा पाका नेताहरुबीच नै हुने देखिन्छ । यद्यपि कांग्रेसमा सभापतिपछि निर्णायक मानिने महामन्त्रीमा युवा पुस्ताको प्रतिस्पर्धा निश्चित छ । सभापतिमा देउवा, पौडेल, निधि, सिंह, कोइराला र सिटौलाको प्रतिस्पर्धा भएपनि महामन्त्रीमा गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, एनपी साउद, गुरुराज घिमिरेहरुको टक्कर कडा हुने देखिन्छ ।

महामन्त्रीमा दावी गर्नेहरु अधिकांश कांग्रेसको आन्तरिक संरचनामा तेस्रो पुस्तामा पर्ने नेताहरु छन् । सबैभन्दा चेपुवामा परेको दोस्रो पुस्ताले यहीपटक नेतृत्व हासिल गर्नुपर्ने वा बाटो छोड्नुपर्ने दवाव छ । ‘युवाहरुले महामन्त्री ताकेका छन् , बुढाहरुले सभापति ताकेका छन् । जो नेताहरु बीचको हुनुहुन्छ उहाँहरुले यसपटक नेतृत्वमा रहनुभएन भने अर्कोपटक अझ गार्हो पर्ने देखिन्छ’,कांग्रेसकै एक नेताको भनाई छ ।

के भन्छन् कांग्रेसका ‘योङ लिडर’ ?

कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधीमा युवाहरुको वर्चस्व छ । तीमध्ये पनि २५ वर्ष मुनिका युवा नेताहरुले अघिल्लो पुस्तालाई अझ दबाब बढाइरहेका छन् । १८ देखि २५ वर्ष उमेरसमूहका क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो पालिका, क्षेत्र र जिल्लामात्रै होइन कांग्रेसको केन्द्रीय नेतृत्व हेरफेरमै हस्तक्षेप गर्ने महत्वाकांक्षा राखेका छन् ।

सोलुखुम्बुको नेचा सल्यानकी २१ वर्षीया पूजा फुँयाल आफ्नो वडाबाट सर्वाधिक मतसहित कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन् । भक्तपुरको सानोठिमी क्याम्पसमा नेविसंघको राजनीति गर्ने फुयाँल पार्टीमा पनि योगदान गर्न कस्सिएकी छिन् । लोकतान्त्रिक पार्टी कांग्रेसप्रति युवा र महिलाको मात्रै नभएर समाजका हरेक क्षेत्रका मानिसको आकर्षण बढाउनुपर्ने पूजाको भनाई छ ।

उमेरले मात्रै नभएर सोच र क्षमताले नयाँपन दिन सक्नेहरु वडादेखि केन्द्रसम्म स्थापित हुनुपर्ने उनी बताउँछिन् । ‘कांग्रेसलाई बुढापाकाको मात्रै पार्टी हो भन्ने सोच अब हट्न थालेको छ । युवाहरुले पनि कांग्रेसमा अवसर पाउन थालेका छन् । अवसर पाएकाहरुले काम पनि गरेर देखाउनुपर्छ । म पदका लागि मात्रै नभएर परिवर्तनका लागि कांग्रेसमा सक्रिय हुन चाहन्छु’, पूजाले नेपाल प्रेससँग भनिन् ।

बागलुङ गल्कोटकी सगुन कडेंल पनि सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि बनेकी छिन् । विगतमा महिला र युवालाई कांग्रेसको राजनीतिमा गरिने असहयोग यसपटक कम भएको उनले महसुस गरेकी छिन् । पार्टीमा सक्रिय सबै उमेर समूहका नेता कार्यकर्ताबीच हार्दिकता कायम गरेर मात्रै कांग्रेसलाई बलियो बनाउन सकिने उनी बताउँछिन् ।

‘कांग्रेस सबैको पार्टी हो भन्ने भावना विकास गराउनुपर्छ । कसैलाई पनि निषेध नगरी जाने हो भने कांग्रेसको संगठन पनि बन्छ, जनताले पनि विश्वास गर्छन्’, कडेंलले भनिन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी १९ वर्षीया दीपिका भण्डारी पनि कांग्रेस क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भइन् । नेविसंघमा सक्रिय भण्डारी पार्टीमा पाएको भूमिकाबाट सन्तुष्ट छिन् । कांग्रेसमा पाका र युवाको सहकार्य हुनुपर्ने भण्डारी बताउँछिन् । ‘कांग्रेसमा युवा पुस्ता र पुरानो पुस्ताको बीचमा समन्वय गर्ने, इतिहास र वर्तमान बुझेर भविष्यका लागि खटिन सक्ने नेतृत्व चाहिन्छ’, भण्डारीले नेपाल प्रेससँग भनिन् ।

नेपाली कांग्रेससँगै वैचारिक सामिप्यता राख्ने युवाहरुको संस्था युथ कांग्रेस हाँकिरहेका सचिन तिमल्सेना पार्टीको तल्लो तहमा युवाहरुको नेतृत्व स्थापित हुनुले उत्साह बढेको बताउँछन् । यद्यपि क्षेत्रीय प्रतिनिधिमा निर्वाचन वा सर्वसम्मतबाट निर्वाचित युवाहरु महाधिवेशन प्रतिनिधि बन्न अझै चुनौती पार गर्नुपर्ने उनको भनाई छ ।

‘सहमति र चुनावबाट क्षेत्रीय प्रतिनिधिमा बुहमत युवाहरु आएका छौं तर त्योभन्दा माथिल्लो तहमा जान अझै बाधा पर्न सक्छ । क्षेत्रीय अधिवेशनमा उमेरकै कारण धेरै युवाहरुलाई रोक्ने प्रयासपनि हुनसक्छ । हामी सचेत भएर पार्टीको सबै तहमा स्थापित हुनेगरी अगाडि बढ्नुपर्नेछ’, तिमल्सेनाले नेपाल प्रेससँग भने ।

उनले पार्टीको हरेक तहमा निर्वाचित युवाले आम नागरिकमा पार्टीप्रति भरोसा बढाउने काम गर्नुपर्नेमा जोड दिए । ‘पहिलो कुरा पार्टीका संरचनाहरुमा बढीभन्दा बढी युवाले जित्नुपर्‍याे । त्यसपछि पार्टी बाहिरका युवालाई पनि आकर्षित गर्नेगरी काम गर्नुपर्‍याे’,उनले भने ।

कांग्रेसको स्थानीय अधिवेशनबाट निर्वाचित सबैजसो युवा नेताहरु पार्टी संगठन चुस्त र प्रतिस्पर्धीसामु बलियो बनेको हेर्न चाहन्छन् । कतै सर्वसहमतिबाट त कतै निर्वाचनबाट तल्लो तहको अधिवेशनमा उदाएका कांग्रेसका ‘योङ लिडर’ हरु केन्द्रमा पनि आफ्नो पुस्ताको मनोभावना बुझ्ने नेतृत्व चाहन्छन् । तर पुरानो पार्टी भएकाले सबै तहमा एकैसाथ पुस्ता हस्तान्तरण नहुने उनीहरुले बुझेका छन् । त्यसैले कांग्रेसको ‘नाति पुस्ता’ पार्टीभित्र ‘हजुरवुवा पुस्ता’सँग सहकार्य र स्वच्छ प्रतिस्पर्धाकै पक्षमा देखिन्छ ।

याे पनि पढ्नुस्
कांग्रेसकी कान्छी सभापति भन्छिन् : बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर