कांग्रेसकी कान्छी सभापति भन्छिन् : बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि – Nepal Press

कांग्रेसकी कान्छी सभापति भन्छिन् : बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि

सुर्खेत । दैलेखकी एक युवती यतिबेला कांग्रेसको वडा अधिवेशन जारी रहेको समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । हिजो मात्रै दैलेखमा वडा अधिवेशन सम्पन्न भएको छ ।

सो वडा सम्मेलनमा अधिकांश नयाँ अनुहारका नेता कार्यकर्ता आएका छन् । उमेरले १९ वर्ष मात्रै पुगेकी १९ वर्षिया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नं तीनमा सभापति चयन भएकी छिन् । उनी स्वास्थ्य सहायक (एचए) अध्ययनरत छात्रा पनि हुन् ।

उनका पिता भुपेन्द्रजंग महत कांग्रेस दैलेखमा अघिल्लो कार्यकालमा उपसभापति भएका थिए । त्यसअघि उनी नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए । उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनिसकेका थिए ।

उनको डेढ वर्ष पहिले मात्रै भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भइसकेको छ । स्वस्तिकाका पिता नेविसंघ र तरुण दलमा हुँदा शेरबहादुर देउवा निकट थिए भने पछिल्लो समयमा उनी रामचन्द्र पौडेल निकटमा थिए । सामाजिक सञ्जालमा भाइरल भएसँगै नेपालप्रेसले स्वस्तिकासँग गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

तपाई राजनीतिमा किन आउनुभयो ?

म मेरा स्वर्गीय बुवाको सपना पुरा गर्न राजनीतिमा आएको हो । मेरा बुवाले दैलेखमा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो । उहाँको सपना पुरा गर्न म राजनीतिमा होमिएकी हुँ ।

स्वास्थ्य क्षेत्रमार्फत सेवा गर्न खोजेको तपाईको यात्रा कसरी राजनीतिमा मोडियो एकाएक ?

यसमा मेरो अन्य कुनै सर्त वा लाभ हानि भन्ने होइन । नेपाली कांग्रेसको विरासतअनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि म यहाँ होमिएकी हुँ । राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो । त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ ।

तपाई कसरी निर्वाचित हुनुभयो ?

म नेपाली कांग्रेसलाई असाध्यै माया गर्छु । मेरो घरमा विगतमा कांग्रेसका नेताहरु आइरहनुहुन्थ्यो । बाबा राजनीतिक व्यक्ति भएकै कारणले म मा राजनीतिप्रति आस्था जागेको थियो । सोही बमोजिम मैले वडा सभापतिमा दावी गरेको हुँ । म सँगै दशजना अन्य प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो । मैले सबैलाई कन्भिन्स गरें । सबैले मलाई सभापतिमा अवसर दिनुभयो ।

तपाईको बुवाको सपना के थियो ?

मेरो बुवाले यस जिल्लाको विकास गर्ने, यहाँका नागरिकले सजिलै उपचार पाउन सकून् । सबैले शिक्षामा पहुँच राख्न सक्ने अवस्था सिर्जना गर्न सकियोस् । कामका लागि भारत जाने अवस्था अन्त्य गर्न स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकियोस र आफ्नो जिल्लालाई विकास तथा अन्य दृष्टिले सक्षम जिल्ला बनाउन सकियोस् भन्ने सपना थियो ।

अनि तपाई सभापतिमा निर्वाचित हुनुभएको छ, कसरी अघि बढनुहुन्छ ?

म यहाँका सबै क्रियाशील सदस्यलाई मिलाएरै लैजान्छु । यहाँका सबै राजनीतिक दलसँग सहकार्य गर्दै गाउँका, वडाका समस्या समाधानका लागि आवश्यक पहल गर्छु । जस्तो कि यहाँको विकास निर्माणका कुरा होलान्, स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढछु । अन्य पार्टीका नगर सभापति, जिल्ला सभापति मार्फत पनि वडाको विकासका लागि पहल गर्न लागिपर्नेछु ।

आगामी नयाँ वर्षमा स्थानीय तहको चुनाव हुँदैछ, वडा अध्यक्षको दावेदार तपाई हो ?

म भर्खर वडा सभापति भएकी छु । हेर्दै जाउँ तर वडाअध्यक्षको दावेदार हो । त्यसैको लागि म राजनीतिमा होमिएको हुँ । वडा मात्रै होइन, पार्टीले पत्याएको खण्डमा माथिल्लो तहसम्म जाने प्रयास गर्नेछु । म राजनीति गरेर नै अघि बढने अठोटका साथ होमिएको छु ।

मैले मेरो बुवाको सपना पुरा गर्नुछ । यहाँका नागरिकहरुको चाहना अनसारको काम गर्नुछ । त्यसका लागि राज्यको उचित निकायमा पुग्न जरुरी छ र त्यसको पहिलो खुड्कीलोको रुपमा आगामी वडा पालिकाको चुनावलाई मैले लिएकी छु ।

वडा अध्यक्ष भएपछि के गर्नुहुन्छ ?

म यदि वडाअध्यक्ष भएँ भने यहाँको विकासमा दत्तचित्त भएर लाग्छु । यहाँका महिला दिदीबहिनीको समस्या समधानका लागि सरोकारवाला निकायसँग माग गर्ने, वडामा भएको योजना, कार्यक्रममार्फत महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने र समग्र रुपमा भन्दा यहाँको विकास गर्ने कार्यमा सहभागि हुनेछु ।

अन्त्यमा तपाई कुन गुटमा हो ?

(हाँस्दै) गुट उपगुटको बारेमा मलाई केहि थाहा छैन । म विस्तारै राजनीति गर्दै जान्छु । अहिलेलाई यत्ति है ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेसकी कान्छी सभापति भन्छिन् : बुबाको सपना पूरा गर्न राजनीतिमा आएँ, अबको लक्ष्य जनप्रतिनिधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर