विष्णु पौडेलको आरोप- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागे – Nepal Press

विष्णु पौडेलको आरोप- पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागे

‘माओवादीको मूलधार एमालेसँगै एकतामा छ,माधव नेपालले एक सिट जित्दैनन्’

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् ।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए । उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए ।

पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।

पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए । केही समय आफ्नै पार्टीभित्रका स्वार्थीहरूका कारण प्रतिपक्षमा बस्नु परे पनि एमालेले आफ्नो हैसियत देखाउने दावी गरे ।

तत्कालीन नेकपाका महासचिव पौडेलले प्रचण्ड-माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको बताए ।

पौडेलले भने, ‘उनीहरू पार्टी फुटाएर सत्तामा जान खोजे । एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे । उनीहरु नसकेपछि आफैं बाहिरिएका छन्, यसले केही असर गर्दैन ।’

पौडेलले फागुन २३ को फैसलापछि पनि नेकपा एकता गरौं भन्दा प्रचण्ड तत्कालीन माओवादीका केही झुण्डलाई लिएर अलग भएको आरोपसमेत लगाए । उनले माओवादी आन्दोलनको मूलधार केपी अ‍ोली नेतृत्वकै पक्षमा रहेको र एमालेमै समाहित भएको बताए ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे ।

रुपन्देहीबाटै निर्वाचित नेता पौडेलले अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माआवादी मिलेर लड्दा पनि एमालेले जितेको भन्दै आउने चुनावमा ५ वटै निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तहमा जिताउनेगरि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर