कुशलको कौशल र रोहितको रफ्तार – Nepal Press

कुशलको कौशल र रोहितको रफ्तार

काठमाडौं । अमेरिकाविरुद्ध सोमबार राति नेपालले हासिल गरेको ५ विकेटको जितसँगै दुई युवा ब्याट्म्यासनकाे प्रश‌ंसा भइरहेकाे छ । नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका रोहित पौडेलले अविस्मरणीय योगदान दिएका थिए ।

अमेरिकाले नेपाललाई दिएको २ सय ३१ रनको लक्ष्य ठूलो थिएन, तर ‘ट्रिकी’ थियो । विगतका रेकर्ड हेर्दा २ सयभन्दा माथिको कुनै पनि लक्ष्यमा नेपाली ब्याटिङ धर्मराउने गरेको छ । तर, हिजोको म्याचमा नेपालले उच्चस्तरको ब्याटिङ प्रस्तुत गर्दै अमेरिकालाई कुनै मौका दिएन ।

नेपालमै गत वैशाखमा नेपालमै भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजबाट नयाँ स्टारका रूपमा उदाएका भुर्तेलले आफू एकदिवसीयमा पनि उत्तिकै प्रभावकारी बन्नसक्ने जनाउ दिएका छन् । अमेरिकाविरुद्धको म्याचमा उनले ‘टिपिकल ओपनर’को ब्याटिङ कौशल देखाए । उनको इनिङमा आक्रमकता र संयमको समिश्रण थियो । कुनै पनि क्षण धैर्य नगुमाई एक रफ्तारमा उनले आफ्नो इनिङ अघि बढाए ।

भुर्तेलको सुझबुझपूर्ण इनिङले शतककै माग गरेको थियो । यद्यपि, उनी त्यसबाट भने चुके । शतकतर्फ लम्किरहेका उनलाई भारतीय मूलका बलर निस्राग पटेलले एलबीडब्लु धरापमा पारे । नेपालका लागि ९२ बलको सामना गर्दै ८४ रन बनाएका कुशलले ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

कुशलले पहिलो विकेटका लागि आसिफ सेखसँग ६६ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए । आसिफ २३ रन बनाएर आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लसँग उनको २७ रनको छोटो साझेदारी रह्यो । ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केपछि नेपाली फेरि पुरानै अवस्थमा फर्किने हो कि भन्ने चिन्ता बढेको थियो । त्यसपछि क्रिजमा उत्रिएका कुशल मल्ल १ रनमा आउट भएपछि नेपालको ब्याटिङ एकाएक खस्किएको भान हुन्थ्यो । तर, कुशल (भुर्तेल) डग्मगाएनन्, र उनलाई रोहितले साथ दिए ।

चौंथो नम्बरमा आएका रोहितसँग कुशलको ५१ रनको महत्त्वपूर्ण साझेदारी भयो । सुरुआतमा रोहितले रनका लागि संघर्ष गर्दा स्कोर्डबोर्डलाई चलायमान बनाउने काम कुशलले गरेका थिए । आवश्यकता महसुस हुनासाथ उनको ब्याटबाट बाउन्ड्री निस्किएको थियो ।

टिम स्कोर १ सय ४४ हुँदा तेस्रो विकेटका रूपमा कुशल आउट भए । त्यतिबेला नेपाललाई जितका लागि ८७ रन मात्र आवश्यक थियो र हातमा ७ विकेट सुरक्षित थिए । त्यसपछिको जिम्मेवारी रोहितले लिए ।

यसअघि पपुवा न्युगिनीविरुद्धका दुई म्याचमा कुशल अपेक्षित सफल हुन सकेका थिएनन् । त्यसैले अमेरिकाविरुद्धको खेलमा उनी केही दवावमा पनि थिए । तर, उनको ब्याटिङमा त्यो दबाब झल्किएन । कुशलले सुरुदेखि खुलेर खेले र केही लोभलाग्दा सटहरू प्रहार गरे ।

कुशल आउट भएसँगै नेपालको इनिङमा रोहितको नायकत्व सुरु भयो । सुरुमा उनलाई रन बटुल्न निकै कठिन भएको थियो । ९ बलमा पहिलो रन लिएका रोहितले एकदिवसीयमा कसरी इनिङ निर्माण गरिन्छ भन्ने नमूना देखाए ।

९३ रनमा नेपालले दुई विकेट गुमाएको अवस्थामा रोहित क्रिजमा आएका थिए । नेपाललाई रनरेटको धेरै प्रेसर थिएन, तर उनी पछाडिको ब्याटिङ लाइनअप खासै भरपर्दो नहुँदा ‘इन फर्म’ रोहितमाथि बढी जिम्मेवारी थियो । परिस्थितिलाई बुझेर उनले धैर्यतापूर्वक आफ्नो इनिङलाई अघि बढाए । ४५ बलसम्म कुनै बाउन्ड्री प्रहार नगरेका उनले ४६औं बलमा शानदार छक्का हानेका थिए । त्यसपछि भने उनले खुलेर खेले ।

रोहितले नेपाललाई जितसम्म डोहो¥याउँदै विजयी रनसमेत प्रहार गरे । ८७ बलमा ६२ रन बनाएका उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । पाचौं विकेटका लागि विनोद भण्डारीसँग उनको ८३ रनको साझेदारी भएको थियो । नेपाललाई जितका लागि मात्र ३ रन आवश्यक हुँदा विनोद भण्डारी आउट भएका थिए ।

१९ वर्षीय रोहितमा गज्जबको आत्मविश्वास र परिपक्वता देखिएको छ । यसअघि खराब फर्मका कारण टिममा स्थान गुमाएका रोहितका लागि यो भ्रमण निकै महत्वपूर्ण थियो । पारस खड्काको सन्न्यास र उप कप्तान तथा भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी चोटका कारण बाहिर भएपछि पपुवा न्युगिनीविरुद्धको म्याचमा उनलाई प्लेइङ–११ मा मौका दिइएको थियो । त्यसयताका तीनवटा खेलमा उनले टिमलाई जिताउन अहम् भूमिका निभाएका छन् ।

रोहितले पपुवा न्युगिनीविरुद्धको पहिलो म्याचमा ४१ रन र दोस्रोमा ८६ रन बनाएका थिए । त्यही फर्मलाई अमेरिकाविरुद्ध निरन्तरता दिए । उनी एकदिवसीयमा लगातार अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् ।

अहिले रोहित जुन रफ्तारमा छन्, त्यसलाई निरन्तरता दिए भने मध्यक्रममा पारस खड्काको अनुपस्थितिबाट सिर्जित रिक्तता उनले पूर्ती गर्न सक्ने आशा पलाएको छ । रक्षात्मक ब्याटिङसँगै ठूला सटहरू हान्ने क्षमता पनि उनले देखाएका छन् ।

१५ वर्षकै उमेरमा राष्ट्रिय टिमबाट डेब्यू गरेका रोहितले यूएईविरुद्ध अर्धसतक बनाउँदै कम उमेरमा ओडीआई अर्धसतक हान्ने खेलाडीको कीर्तिमानसमेत राखेका थिए । पछि उनको कीर्तिमान नेपालकै कुशल मल्लले तोडेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर