चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ) – Nepal Press

चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ)

काठमाडौं । सांसदहरूले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरू मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतले चिकित्सा शिक्षा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पुर्‍याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग उनको जोड छ ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विश्वकर्माले गरिव र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल नगर्न सचेत गराए । उनले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानूनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न जोड दिए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरूलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन ध्यानाकर्षण गराइन ।

सांसदको प्रश्नको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समुदायका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन आफूहरू सचेत रहेको जिकिर गरे ।

उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तरगतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनका अनुसार मंसीर, पुसभित्र सो संस्थानअन्तर्गतका सबै परीक्षा लिने गरी छलफल अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर