सहिद धर्मभक्त अस्पतालमा १२ वर्षमा १२ सयको मिर्गौला प्रत्यारोपण – Nepal Press

सहिद धर्मभक्त अस्पतालमा १२ वर्षमा १२ सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा १२३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

मंगलबार १२औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए ।

अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म १८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनको भनाइ छ । आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, ५०० शय्याको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको डा। श्रेष्ठले सुनाए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहले केन्द्रलाई अझै प्रविधि र पूर्वाधारयुक्त बनाउन सबै निकायको हातेमालोमा जोड दिए ।

सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए । सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले मानव अङ्ग प्रत्यारोपण अस्पताल बनाउन १० रोपनी जग्गा दिनुपर्ने बताए ।

भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठले बिरामीको चाप बढेकाले भवन विस्तारमा जोड दिनुपर्ने बताइन् । सो अवसरमा २०८० सालमा उत्कृष्ट सेवा गरेबापत डा.दीपेश श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र डा. कल्पनाकुमारी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर