लुम्बिनी प्रादेशिक अस्पतालको हेलिप्याडसहित १२ तले अत्याधुनिक भवनको काम सुरु – Nepal Press

लुम्बिनी प्रादेशिक अस्पतालको हेलिप्याडसहित १२ तले अत्याधुनिक भवनको काम सुरु

रुपन्देही । बुटवलस्थित ११४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक संरचनासहितको १२ तले भवन निर्माण अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेपछि भवन निर्माणका लागि पुराना संरचना हटाउन थालिएको हो ।

आयोजनाका साइड इन्जिनियर रमेश शर्माले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पताल भवन निर्माण गर्न पुराना संरचना हटाउने काम धमाधम भैरहेको बताए । अत्याधुनिक भवन बनाउन अस्पतालको प्रशासनिक कक्ष रहेको भवन भत्काइनेछ ।

दिउँसो सेवाग्राहीको आवागमनले पूर्ण काम गर्न नमिले पनि साँझ र बिहान तीब्रताका साथ काम अघि बढेको इन्जिनियर शर्माले बताए । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको उनको भनाइ छ ।

‘हामीले दुई हप्ताभित्रै पुरानो संरचना हटाएर नयाँ संरचनाको जग खन्न जमिन तयार पार्दैछौं’, शर्माले भने, ‘अस्पतालका अन्य संरचनाको सुरक्षा तथा जग खन्ने कामका लागि सीट पाइलिङको तयारी भैरहेको छ ।’

अस्पतालको नयाँ भवनको २ तला जमिनमुनि हुनेछ । त्यसैले गहिरो जग खन्ने क्रममा पुरानो संरचना र वरिपरिका जमिनमा असर हुन नदिन करिब ६०० पाइल गाड्नुपर्ने इन्जिनियर शर्माले बताए । पाइलिङका लागि २ वटा मेशिनबाट काम भैरहेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बिरामीहरूको उपचारमा कुनै बाधा नपुग्ने गरी जोखिमरहित तरिकाले पुराना संरचनालाई मार्किङ गरेर हटाउने काम भैरहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा भवन निर्माण हुँदैछ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले भवन निर्माणपछि एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबैखाले सुविधासहितको क्षेत्रीय अस्पतालमा स्तरोन्नति गरिने बताए ।

अस्पतालको डीपीआरअनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपीडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । भवनको छटमा हेलिप्याड रहनेछ । हेलिप्याडबाट इमर्जेन्सीमा सीधै आउजाउ गर्न मिल्ने लिफ्टको व्यवस्था गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए ।

उनका अनुसार क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिनेछ ।

सरकारी ३०० र अस्पताल विकास समितिमार्फत् १०० गरी ४०० बेडको स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १२४ बेड थप गरी ५२४ पु¥याइएको छ । अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा. नेत्रबहादुर रानाले अस्पतालमा ओपीडीतर्फ दैनिक करिब २ हजार र इमर्जेन्सीमा २५० जनासम्म बिरामी आउने बताए ।

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शय्याबाट सुरू भएको अस्पताल लुम्बिनी क्षेत्रकै सबैभन्दा पुरानो र ठूलो अस्पताल हो । सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीमा दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । अस्पताललाई १९९८ सालमा हाल रक्तसञ्चार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर