चितवनमा विकास कोइरालाको पक्षमा कांग्रेस कार्यकर्ताको प्रदर्शन, कारवाही फुकुवा गर्न माग – Nepal Press

चितवनमा विकास कोइरालाको पक्षमा कांग्रेस कार्यकर्ताको प्रदर्शन, कारवाही फुकुवा गर्न माग

चितवन । पूर्व जिल्ला सभापति विकास कोइरालाविरुद्धको कारवाही फुकुवाको माग गर्दै कांग्रेस चितवन पार्टी कार्यालयमा युवाहरुले प्रदर्शन गरेका छन् । कोइरालाको पक्षमा नेविसंघ र तरुण तलका युवाले प्रदर्शन गरेका हुन् ।

नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले कारवाही फुकुवाको माग गर्दै पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । अनुशासनको कारवाही भएको ६ वर्षपछि स्वतः खारेज हुने पार्टीको विधानमा भएपनि हालसम्म कारवाही फुकुवा नभएको ताम्राकारले बताए ।

चितवन कांग्रेसका सभापति श्रेष्ठले ध्यानाकर्षण पत्र बुझ्दै कारवाही फुकुवा नभएकोमा अचम्मित भएको प्रतिक्रिया दिएका छन् । जिल्लाले कारवाही फुकुवा गर्न केन्द्रमा पत्र पठाएपनि सुनवाइ नभएको उनले बताए । जिल्ला बैठकमा फेरि कारवाही फुकुवाबारे छलफल गरिने उनको भनाइ छ ।

युवा नेता सूर्यहरि मरहट्ठाले विकास कोइरालाको क्रियाशील सदस्यता नआए चितवनमा कांग्रेसको चुनाव नै हुन नदिने चेतावनी दिए ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए । केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २०७० कात्तिक २ गते पार्टीले उनको क्रियाशील सदस्यता समेत खारेज गरेको थियो ।

१२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए ।

विकास कोइरालाले ८ वर्षसम्म पनि कारवाही फुकुवा नहुनु दुखद भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर