‘हार्डलाइनर’ यी नेता : एमाले जोगाउनका लागि ओलीसँग विवाद बिसाउन तयार – Nepal Press

‘हार्डलाइनर’ यी नेता : एमाले जोगाउनका लागि ओलीसँग विवाद बिसाउन तयार

काठमाडौं । एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्ने नाम सम्झदा सरसर्ती माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण बिष्ट यस्तै यस्तै नाम आउँछ।

एमाले भित्र ओलीका प्रतिपक्ष मानिने उनीहरुको सार्वजानिक पहिचान ‘हार्डलाइनर’ नेताको रुपमा स्थापित भएको थियो । कतिपय अवस्थामा त माधव नेपालभन्दा अघि बढेर भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीहरु ओलीको आलोचना गर्थे । तर, अब यी ‘हार्डलाइनर’ नेताहरुले ओलीसँगको विवाद बिसाउने भएका छन् । उता, माधव नेपालले छुट्दै पार्टी दर्ता गर्दै एमालेबाट ‘डिपार्चर’ गरिसकेका छन् ।

राजनीतिक र सांगठानिक रुपमा विभाजित भएको करिब ८ महिनापछि ओलीले बोलाएको स्थायी कमिटी बैठकमा एमाले विभाजनमा नेपाललाई साथ नदिएका यी नेताहरु सहभागी हुने भएका छन् ।

८ महिनापछि एउटै बैठकमा

ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ राजनीतिक र सांगठानिक रुपमा विभाजित भएको थियो ।

संसद विघटनको दुई दिनपछि ७ पुसमा एकतातिर प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक र अर्कोरित ओली पक्षको बैठक बसेर नेकपाको सांगठानिक विभाजन शुरु भएको थियो ।

ओलीको कदमको विरोधमा अहिले एकता पक्षधर देखिएका नेताहरुको पनि सहभागि थियो । उनीहरु सहभागि बैठकले नै ओलीलाई नेकपा अध्यक्ष र नेकपाको साधारण सदस्यबाटै निष्काशन गरेको थियो ।

यो समूहले ओलीलाई नेकपाबाट चार पटक निष्कासन गरेको थियो भने सुवास नेम्वाङ, बिष्णु पौडेल, विशाल भट्टराई, सुर्य थापा, महेश बस्नेत, निरु पाल, शान्त अधिकारी, कर्ण थापा लगायतलाई फागुन २३ को फैसला भन्दा केही दिनअघि निकालेको थियो ।

पार्टी भित्र बहुमत विपक्षमा भएका कारण ओली संख्यात्मक रुपमा कमजोर भएका थिए । तर, २३ फागुनको नेकपा एकता बदर गर्ने सर्वोच्चको फैसलापछि एमाले पुनःस्थापित भयो र ओलीको गुमेको शक्ति फर्कियो । फैसलाले ओलीको एक हिसाबले ‘रेस्क्यू’जस्तै भयो ।

एमाले पुनःस्थापित भएपछि पनि विवाद भने साम्य भएन । नेकपाकालीन विवाद एमालेमा स्थानान्तरण भएको थियो । हाल एकता पक्षधर यी नेताहरुको ओलीप्रतिको आक्रमकता र विरोध त्यसपछि पनि कायमै थियो । त्यसपछि दोस्रो पटक पनि संसद विघटन भयो । उसै गरि ओलीको विरोधमा उनीहरु उत्रिए ।

ओलीले बोलाएका ५ पुस यताका कुनै पनि बैठकमा उनीहरु सहभागी भएनन् । तर, अब भोलिदेखि त्यो अबस्था तोडिदै छ । संयोग नै मान्नुपर्छ पुस ७ बाट विभाजित पाइला भदौं ७ बाट फेरि मिल्दै छन् ।

सोमबार बिहान एमाले अध्यक्ष ओली निवासमा एकता पक्षधर नेताहरु र ओलीबीच भएको वार्तापछि अबस्था फेरिएको छ । केपी ओलीका सबै बैठक बहिस्कार गरेका नेताहरु भोलिको स्थायी कमिटी बैठकमा जान तयार भएका छन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे कार्यान्वयनको प्रक्रियालाई तिब्रता दिन भोलि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्न लागेको र उक्त बैठकमा एकता पक्षधर नेताहरु पनि सहभागि हुने जानकारी दिए ।

‘१० बुँदे कार्यान्वयनको प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ,’ बालकोट बैठकपछि ज्ञवालीले भने, ‘यसबारेमा थप छलफल गर्न भोलि ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठामा स्थायी कमिटी बस्छ । यो छलफलपछि पार्टीमा देखिएका समस्याहरु समाधान हुन्छ। भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुन्छ।’

केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ८ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

४ भदौमा बसेको एकता पक्षधर नेताहरुको बैठकले एकताकै पक्षमा उभिने निर्णय गरेको थियो । उक्त बैठकपछि स्थायी कमिटी ९ जनाले जारी गरेको संयुक्त वक्तव्यमा १० बुँदेको अक्षरशः कार्यान्वयन गर्न र नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन माग गरेका थिए । नेपाललाई पनि नयाँ दल दर्ताको प्रक्रियाबाट पछि हट्न आह्वान गरेका थिए ।

आजको बैठकपछि एकता पक्षधर मध्यका एक योगेश भट्टराईले १० बुँदेको कार्यान्वयनमा मोडालिटी बनाउने र भोलिको स्थायी कमिटी बैठपछि तिथिमित समेत निर्धारण गर्ने सहमति भएको जानकारी दिए ।

‘आजको छलफलको निष्कर्ष भनेको १० बुँदेले २०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेको केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगर-गाउँ, वडा र टोलसम्म कमिटी क्रियाशील हुन्छन्,’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘२०७५ जेठ २ गते जुन-जुन नेताहरुको जिम्मेवारी जे थियो त्यो जिम्मेवारी यथावत रहन्छ । ’

उनले थपे, ‘यो संगीन मोडमा एकतालाई बचाइ राख्नका लागि दस सदस्यीय कार्यदलले प्रस्ताव गरेको १० बुँदेलाई पारित गर्ने र मोडालिटी बनाउने र कार्यान्वयनको तिथि मिति पनि तय गरिने छ ।’

माधव नेपालसहतिका १४ सांसदमाथिको कारबाही फिर्ता लिने विषयमा पनि ओली सकारात्मक भएको भट्टराईको भनाइ छ। तर त्यसका लागि माधव नेपालले नयाँ दल दर्ताबाट पछि हट्नुपर्छ ।

‘ यस विषयमा अध्यक्ष ओलीले सकारात्मक धारणा राख्नु भएको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा जिम्मेवारी भएको बताउनु भएको छ । सबैको जिम्मेवारी यथावत राख्ने । कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्ने विषयमा पूर्णरुपमा लाग्ने बनाउनु भयो ।’

रावलले ओली भेटेपछि आएको बदलाव

ओलीका कट्टर आलोचना मानिएका भीम रावल २० आसारको राती बालुवाटार पुगे । ओलीसँग उनले त्यहाँ वार्ता गरे । त्यसपछि भने उनी पनि बदलिए र एमालेको आन्तरिक जीवनमा विवादको समीकरण पनि बदलियो ।

ओली-रावल भेटको भोलिपल्टै निष्क्रिय रहेको एमाले विवाद समधानका लागि गठित कार्यदललाई ब्युँताइयो । यसअघि त्यस कार्यदलका बैठकमा रावल खरोगरि प्रस्तुत हुने गरेकामा त्यसपछि भने लचक रुपमा प्रस्तुत हुन थाले । उनकै जोडबलमा बैठक तारन्तार बस्यो र असार २७ को मध्यरातमा कार्यदलले १० बुँदे सहमति गर्‍यो ।

तर, उक्त सहमतिको अपनत्व लिन माधव नेपाल तयार भएनन् । नेपालसँग राम्रोसँग समन्वय नगरि रावलले जवरजस्ती सम्झौता गरेको उनी पक्षकै नेताहरुले आरोप लगाए ।

यसबीचमा रावलमाथि भारतीय गुप्तचर निकायसँग भेटेको, ओलीले कार्यवाह अध्यक्ष दिने आश्वासन दिएपछि नेपाललाई धोका दिएको आरोप पनि लागे । यद्यपि उनले यसको औपचारिक रुपमै वक्तव्य निकालेर प्रतिवाद गरिसकेका छन् ।

असार २० यता नेपाल समूहकै विभाजन आइसकेको छ। नेपालको साथ दोस्रो तहका नेताले छोडेका छन् भने तेस्रो तहको भरमा उनले नयाँ पार्टी दर्तामा गइसकेका छन् । मुख्य लडाइँमा माधव नेपालभन्दा अघि सरेर ओलीको आलोचना गर्ने तर अहिले साथ छोड्ने भन्दै एकता पक्षधर नेताहरुको आलोचना पनि भइरहेको छ।

यसको जवाफ दिँदै भट्टराई आफूहरुले पहिल्यै नेता नेपाललाई प्रष्टसँग ओलीको आलोचना गर्ने कुरामा साथ हुने तर पार्टी विभाजनमा नहुने कुरा भनेको बताउँछन् ।

‘हामीले अन्तिमसम्म एकताको रक्षा गरौं भनेको हो,’ बालकोटमा पत्रकारहरुमाझ भट्टराईले भने, ‘हामीले उहाँसँग पटक-पटक पार्टी विभाजनमा हामी सँगै हुँदैनौ भनेर प्रष्टसँग भनेको हो । उहाँले अलि हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरि बाहिर जानुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर