सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचनाः जनतालाई पैदल हिँड्ने बाटो छैन, तपाईंलाई सधैँ हेलिकप्टर ? – Nepal Press

सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचनाः जनतालाई पैदल हिँड्ने बाटो छैन, तपाईंलाई सधैँ हेलिकप्टर ?

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भदौ ४ गते बडिमालिका पारिवारिक तिर्थाटन विवादमा परेको छ । मुख्यमन्त्री शाही, पत्नी र सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीसँगै तिर्थाटनका नाउँमा आफ्नो गाउँमा हेलिकप्टर चढेर गएका थिए ।

उनी हेलिकप्टर चढेर तीर्थाटनमा गएको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ । नेकपा माओवादी भइ जनयुद्ध लागेको समयमा नागरिकलाई देवीदेवता पुज्न नदिने, मन्दिरका घण्टीहरु चुँडाल्ने, धामी-झाँक्रीहरुका ‘लटा’ उखेल्ने, उनीहरूलाई गाईगोरुको मासु खुवाउने माओवादी थियो । त्यही पार्टीबाट मुख्यमन्त्री बनेका शाही पछिल्लो समयमा तिर्थाटनका नाममा राज्यकोषको दुरुपयोग गरिरहेको आरोप लागेको छ ।

‘थोरै पानी पर्दा सडकमा गाडी गुडाउन नमिल्ने अवस्था छ । उहाँ मुख्यमन्त्री भएको चार वर्ष पुग्न लाग्दा पनि जिल्लामा सडक यातायातको अवस्था सुदृढ भएकै छैन,’ कालीकोटका कमल भट्टराई भन्छन्, ‘उहाँलाई यहाँको विकास भन्दा पनि आफू र आफ्नाहरुको साथमा मोजमस्ती गर्न पाए पुग्छ ।’

समाचार भाइरल भएपछि कालीकोटकै पत्रकार विष्णु प्रसाद न्यौपानेले भनेका छन्, ‘कालीकोटका ग्रामीण समुदायमा त्यही जनयुद्वमा ज्यान गुमाएका, अंगभङ्ग भएका, बेपत्ता भएका परिवारहरु गाडी चड्ने भाडा नभएर पैदल यात्रा गर्छन् । कडा परिश्रम गरेर आधा पेट खान्छन् । कालिकोटका स्थानीय गरिब दुखी नागरिकहरुलाई पैदल हिँड्ने बाटो पनि सहज छैन । तर कर्णालीका महाराजलाई सँधै हेलिकप्टर ? हेलिकप्टर चढेर सेल्फी खिच्नेहरुले किन बुझ्दैनन् कि तिनीहरूका फोटाले ती गरिब, दुखी र द्वन्द्वपीडित नागरिकलाई कति पीडा दिन्छ ?’ उनले लेखेका छन् ।

न्यौपाने थप्छन्, ‘हिजो देवताका थान र माईका मन्दिर भत्काएर पुरानो ध्वंश, नयाँ निर्माण भन्ने यिनै होईनन् ? आज ती मन्दिरमा पाप कटाउन जान लाज लाग्नुपर्दैन ? जनतालाई ढाड सेक्ने गरी कर असुल्ने अनि त्यही सरकारी बजेटको दुरुपयोग गर्ने यिनिहरुलाई अधिकार छ ? बढिमालिका दर्शन नै गर्नु थियो भने व्यक्तिगत खर्चमा किन गएनन् ? सरकारी बजेटकै दुरुपयोग गर्नु पर्छ र ? महाराज अब त अत्ति भयो, सच्चिबक्सियोस !’

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका फोटो पत्रकार विवशकुमार सेजुवालले मुख्यमन्त्रीको बचाउ गर्दै स्टाटस लेखेका छन् । उनले विभिन्न मिडियामा आएका समाचारलाई मुख्यमन्त्री शाहीको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गरेका छन् । मुख्यमन्त्रीले कालीकोटस्थित धार्मिक र पर्यटकीय स्थलको अनुगमन गर्नुका साथै त्यस ठाउँको बिकास गर्नको लागि भावि योजनाको बारेमा चिन्ता चासो र चासो व्यक्त गरेको दाबी गरेका छन् ।

मुख्यमन्त्री शाहीले हेलिकप्टरबाट कोटवाडा मान्म केवुलकार, प्रसिद्ध धार्मिक स्थल त्रिवेनी पाटन, कोटवाडा सुनथराली एयरर्पोट, पंचालझरना होम स्टे लगायतका क्षेत्रको भ्रमण गरेको पुष्टी गरेका छन् ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया

2 thoughts on “सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचनाः जनतालाई पैदल हिँड्ने बाटो छैन, तपाईंलाई सधैँ हेलिकप्टर ?

  1. लुटेराका सन्तानहरुले त्यतिखेर गरिवका छोराछोरी मार्नलाई नाटक गरेका थिए भन्ने अहिले पुष्टि हुदैछ।

  2. मुख्यमन्त्रीको विरोध गर्नु नै बेकार हो जस्तो लाग्दछ मलाई त, त्यत्रो जेननेल, बसेको के का लागि त त्यसैका लागि त हो नि । जनताको लागि काम गर्न को गएको हो र ? मुख्यमन्त्रीले एकदमै राम्रो काम गर्नुभएको छ , मुख्यमन्त्री ज्यु सधै हेलिकप्टरमा हिड्नुहोला है । यहि त हो नि बिकास भनेको , चामलको लागि कर्णाली जनता मरिरहेपनि तपाई हेलिकप्टरबाट उत्रिनुहन्न है, रिस गर्नेहरु गरिरहन्छन् तपाईले सारै राम्रो काम गरिहरहनुभएको छ जय लोकतन्त्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर