कर्णालीका सौखिन मुख्यमन्त्री : सपत्नी हेलिकप्टर चढेर जन्मस्थानको परिभ्रमण – Nepal Press

कर्णालीका सौखिन मुख्यमन्त्री : सपत्नी हेलिकप्टर चढेर जन्मस्थानको परिभ्रमण

सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’ को उपमा पाएको कर्णालीको सरकारका नेतृत्वकर्ता भने झिनामसिना कामका लागि पनि हेलिकोप्टरमा यात्रा गर्न रुचाउँछन् ।

गत भदौ ३ गते मुख्यमन्त्री शाही पत्नी चन्दासहित हेलिकप्टर चढेर आफ्नो गाउँ पचाल झरनामा पुगे । उक्त आकाश यात्रामा उनीहरुलाई कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाहीले साथ दिएका थिए । यसका लागि साढे दुई लाख खर्च भएको थियो ।

सान्नी त्रिवेणीधाममा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन भन्दै मुख्यमन्त्री जन्मस्थानमा पुगेका हुन् । उनको घर भएको पचला झराना र सान्न त्रिवेणी धाम छिमेकी गाउँपालिका हुन् । मुख्यमन्त्री शाहीले आफ्नै गाउँमा लगेर हेलिकप्टर ल्यान्ड गराएका थिए ।

उनकी श्रीमती चन्दा शाहीले सामाजिक सञ्जालमा चार वर्षपछि कर्मघर पुगेको भनेर सामाजिक सञ्जालमा जानकारी गराएकी छन् ।

सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष शाहीले भने आफुहरु त्रिवेणी क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन सम्भाव्यता अध्ययनका लागि हेलिकप्टरमा गएको बताए ।

‘हो, हामी अस्ति हेलिकप्टरमा गएका हौं । त्यसको खर्च साढे दुई लाख हो,’ उनले भने, ‘यस क्षेत्रको प्रचारप्रसार गर्ने चाहनाले त्यहाँ गएका हौं । अब हामी सम्भाव्यता अध्ययन गर्न लाग्नेछौ ।’

इन्जिनियर पनि आइसकेको भन्दै उनले मुख्यमन्त्रीले हेरिसकेपछि बाँकी काम अघि बढ्ने बताए ।

त्यसो त गत आर्थिक वर्षमा पनि सोही पालिकाले प्रचारप्रसार गर्ने भन्दै दश लाख रुपैंया खर्च गरेको थियो ।

‘गत वर्ष यही बहानामा दश लाख रुपैंया खर्च भएको थियो । यो वर्ष कसरी रकम जुटाएका हुन थाहा छैन । तर त्रिवेणीका नाममा रकम हिनामिना गर्ने प्रचलन बढदै गएको जनगुनासो आएको छ,’ सान्नी त्रिवेणी वडा नं. ५ का अध्यक्ष नरेश बमले भने ।

यदि राज्यको सम्पत्ति खर्चगरेर हेलिकप्टर सयर गरिएको हो भने त्यो अनुचित रहेको उनको भनाइ छ ।

‘नीजि खर्चमा हो भने ठिकै छ, तर यदि पालिकाले खर्च व्यहोर्ने स्थिति आएको खण्डमा हामी चर्को रुपमा आवाज उठाउँछौं,’ उनले भने ।

गाउँपालिका अध्यक्ष शाहीले आफ्नै व्यक्तिगत खर्चमा मुख्यमन्त्रीलाई हेलिकप्टर चढाएको दावी गरे । तर, स्रोतले भने डिपीआर बनाउन प्रदेश सरकारले बजेट दिने भएकाले त्यसैबाट हेलिकोप्टरको भाडा तिर्ने योजना रहेको बताएको छ ।

‘विगतमा पनि यसरी विभिन्न बहानामा मुख्यमन्त्री शाही हेलिकप्टर चढेर कालिकोट आउने–जाने गरेका छन् । यो पाली पनि खर्च सरकारकै हुने हो,’ स्रोत भन्छ, ‘पालिका अध्यक्षले नीजि खर्च भन्ने र तर प्रदेशले नै व्यहोर्ने गरिएको छ ।’

त्रिवेणी क्षेत्र पर्यटकीय स्थल हो । यहि स्थलमार्ग हुँदै बडिमालीका पुग्न सकिन्छ । यो अछाम, कालिकोट र बाजुराको सिमाना पनि हो ।

यो क्षेत्रको विकासकालागि भन्दै प्रदेश सरकार तथा पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा एक करोड खर्चेर धर्मशाला निर्माण गरेका थिए । तर उक्त धर्मशाला निर्माण भएको एक महिनामै भत्किएको थियो । एक करोड खर्च गरेको भवन भत्किएको र त्यसमा भ्रष्टाचार भएको भन्दै लामो समयसम्म प्रदेश सरकार र पालिकाको आलोचना भएको थियो ।

मामुली काममा मुख्यमन्त्री शाहीले हेलिकप्टर सयर गरेको यो पहिलोपटक होइन । गत असार ९ गते भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीसँग कालिकोटका विभिन्न पालिकामा गाउँ तथा नगरसभा उदघाटन गर्न उनी हेलिकोप्टर चढेर पुगेका थिए । उनले पलाता गाउपालिका, खाडाचक्र नगरपालिका लगायतका पालिकाको सभा असार १० गते उद्घाटन गरेका थिए ।

कालिकोटकै शुभकालिकाको सभा मौसम खराबीको कारण उनले उद्घाटन गर्न पाएनन् । ती सबै पालिकामा सडकको पहुँच भए पनि मुख्यमन्त्री हेलिकप्टर चार्टर गरेर नै कालिकोट जाने गरेका छन् । त्यसअघि पनि विभिन्न बिद्यालय र अन्य कार्यक्रममा हेलिकप्टर लिएर पुग्ने गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “कर्णालीका सौखिन मुख्यमन्त्री : सपत्नी हेलिकप्टर चढेर जन्मस्थानको परिभ्रमण

  1. मुख्यमन्त्रीको यो भ्रमणलाई अन्यथा मान्नु लेख्नु वा आलोचना नै गरिहाल्नु जरूरी छैन। किनकी वर्षको वा दुई वर्षको अन्तरालमा उहाँको आफ्नो कर्म थलोको जहाँसुकै जाने हक रहन्छ, कर्मचारीको जस्तो अड्डै कुरी रहनुपर्छ भन्ने छैन, रह्यो कुरो हेलिकप्टरको, मैदानी भाग भए साइकलमा पनि गए हुन्थ्यो तर कर्णाली जस्तो बिकट प्रदेश हो नि त? के मा चढेर जाने?

  2. दुर्गम क्षेत्रमा विशेष कार्यक्रममा जानु पर्दा यातायातको सुविधा सर्वसुलभ नभएको अवस्थामा प्रविधिको प्रयोग गरी बनाइएको हेलिकप्टर चढ्नु सामान्य कुरा हो यसमा बिरोध गर्नुको कुनै तुक छैन खाली बिरोधका लागि गरिने बिरोध फगत मात्रै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *