फुटेको जसपा एमाले-माओवादी गठबन्धनमा रहने


काठमाडौं । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।
आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए । मनमौजी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको उनले बताए । श्रेष्ठले प्रचण्ड नेतृत्वको गठबन्धनकै निरन्तरताको पक्षमा रहेको बताए ।
राजनीतिक अस्थिरताले नेपालमा संघीयताप्रतिको भ्रम उत्पन्न भएकाले आफूले राजनीतिक स्थिरताका लागि कदम चालेको उनको भनाइ थियो ।
‘प्रतिनिधिसभाको १२ जनामध्ये ७ जना बहुमत सांसद हामीसँग छ’, उनले भने ।
वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत भएको दाबीसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि पुगेका छन् ।
नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको श्रेष्ठले पत्रकारहरूलाई बताए । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।