दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी – Nepal Press

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो ।

गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ । पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ ।

गाउँपालिकाले अहिले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान किसानलाई दिने गरेको छ । यसले भैँसीपालक किसानले उत्साहित भएर दूध उत्पादन बढाउँदै लगेका छन् । बिहादीमा उत्पादन भएको दूध कुश्मा बजारसम्म पुग्ने गरेको छ । गाउँपालिकाका कृषि प्राविधिक जीवन शाहीले पछिल्ला दिनमा कृषि क्षेत्रमा पालिकाको लगानी बढेको र यसले यान्त्रिकीकरणमा सहयोग र विभिन्न खालका तालिमले किसानमा उत्साह थपेको दाबी गरे ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले ९४ हाइटेक टनेल, ८० भकारो सुधार, झण्डै चार दर्जन कुटानीपिसानी मेसिन वितरण गरेको छ । पालिकाले झण्डै छ हजार किलो गहुँको बीउँ वितरण गरिसकेको छ । यस वर्ष एक सय ६० मौरीका घार वितरणको तयारी पनि भएको छ । मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले वितरण गर्ने तयारी गरेको हो ।

त्यसैगरी चालु आवमै कागती, सुन्तला, लिची, आपलगायतका फलफूलका बिरुवा वितरण गर्ने तयारी छ । गाउँपालिकामा सबैभन्दा बढी रैथाने बालीअन्तर्गत कोदो उत्पादन हुने गरेको छ । “बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ”, कृषि प्राविधिक शाहीले भने“पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ ।” किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ ।

आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ । “अब केही समयमै कृषि एम्बुलेन्स आउँदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट बेहोनुपर्दैन”, शाहीले भने।

गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिनेगरी लागेको बताए । उनले बिहादीलाई कृषि क्षेत्रमा आत्मनिर्भर गराउने गरी योजनाबद्ध रुपमा अगाडि बढेको जानकारी दिए । “के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौँ”, अध्यक्ष गुरुङले भने, “दूध र तरकारीमा भए पनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ ।”

किसानले उत्पादन गरेको वस्तु बजार पुर्‍याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुरुङले बताए । “अब कृषिजन्य वस्तु उत्पादन भएको बजार पुर्‍याउन सकिएन भन्ने अवस्था रहँदैन”, उनले भने, “अहिले पनि गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान दिएका छौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर