म्युजिक भिडियोमा चम्केकी मोडल गरिमा शर्माले किनिन् ४० लाखको कार – Nepal Press

म्युजिक भिडियोमा चम्केकी मोडल गरिमा शर्माले किनिन् ४० लाखको कार

काठमाडौं । टिकटकबाट उदाएकी चर्चित म्युजिक भिडियो मोडल तथा नायिका गरिमा शर्मा अब चारपाङ्ग्रे सवारीको धनी बनेकी छन् । हालै उनले करिव ४० लाख रूपैयाँ हालेर नयाँ कार खरिद गरिन् ।

गरिमाले सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्दै बिवाइडी कम्पनीको विद्युतीय कार किनेको जानकारी गराएकी छन् । कलाकारितामा लागेको साढे तीन वर्षमै उनी कार चढ्न सफल भएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘जुन सपना देखेर म्युजिक इन्डस्ट्रीमा प्रवेश गरेँ, यहाँका अग्रजले मलाई पत्याएर विश्वास गर्दिनु भो, सबैप्रति आभारि छु । दर्शकले दिनुभएको मायाप्रति नतमस्तक छु । हजुरको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयात्रीको रुपमा एउटा सदस्य थप्न सफल भएकी छु । मेरो जीवनका हरेक आरोह अवरोह हजुरसँग शेयर नगरी बस्न सक्दिनँ । अझै धेरै माया र आशिर्वादको अपेक्षा गर्दछु । मलाइ गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाध माया पनि ।’

गरिमाले बिवाइडी नै किन किन्ने भनेर पाँचवटा कारण पनि उल्लेख गरेकी छन् । नेपालको सडक संरचनासँग मिल्दोजुल्दो आकार, आधुनिक प्रविधि, सरल तथा आरामदायी यात्राको सुबिधा, नेपाली अर्थतन्त्र र मध्यम परिवारलाई पनि समेट्ने मुल्य, ब्याट्रीको वारेन्टी तथा टिकाउपना र सबै वातावरणप्रति संवेदनशील नागरिकको एक मात्र रोजाइ रहेको उनको दावी छ ।

गरिमा कोभिड १९ को संक्रमणको लकडाउनपछि म्यूजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी टिकटक स्टारका रूपमा परिचित थिइन् । उनी अहिलेको व्यस्त मोडलमा पर्छिन् । साढे तीन वर्षको अवधिमा उनले १७० वटा म्यूजिक भिडियोमा अभिनय तथा नृत्य गरिसकेकी छन् । उनको आम्दानीको मुख्य स्रोत म्युजिक भिडिओ नै हो ।

गरिमा चलचित्रमा पनि डेब्यू गर्दैछिन् । यसै महिनाको २५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ञलण्डन टु पेरिसझमा उनको अभिनय छ । यस्तै आगामी असोज ११ गते प्रदर्शनको मिति तोकिएको हस्व दिर्घमा पनि गरिमाको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *