१० मिनेटकाे संसद बैठकमा जे भयाे – Nepal Press

१० मिनेटकाे संसद बैठकमा जे भयाे

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरेर स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलो गरी सुरु भएको थियो ।

प्रमुख प्रतिपक्ष दलले बोल्न पाउनुपर्ने माग निरन्तर राखिरह्यो । सभामुखले बोल्न नदिने अडान कायमै राखिरहे । अन्तत दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहटेपछि कार्यसूचीमा नै प्रवेश नगरेर आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

शुक्रबारको बैठक १० मिनेट बसेको थियो । १० मिनेटको समयमा प्रमुख प्रतिपक्ष दलले पुरै समय बोल्न पाउनुपर्ने माग निरन्तर राख्यो । सभामुखले पनि निन्तर प्रतिपक्ष दललाई शून्य समय, विशेष समय र आकस्मिक समय नरहेको भन्दै नियमित कार्यसूचीमा प्रवेश गर्नका लागि प्रयासरत रहे ।

सभामुखले प्रमुख प्रतिपक्ष दललाई बोल्न नै नदिएर नीति तथा कार्यक्रममाथीको छलफललाई अघि बढाउनका लागि धेरे पटक अनुरोध गरे । प्रमुख प्रतिपक्ष दलका सांसद, महामन्त्री विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकले विना माइक आफुहरुले बोल्न पाउनुपर्ने माग राखिरहे । अन्तत दैनीक कार्यसूचीका सबै कार्यक्रम हटाएर आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित हुन पुगेको छ ।

१० मिनेटमा के-के भयो ?

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको शुक्रबारको बैठक केहि सयम ढिलो गरी सभामुखले सूरु भएको जानकारी गराए । बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसद आ-आफ्नो ठाउँमा उभिए ।

प्रतिपक्ष दलका सांसद उभिने बित्तिकै सभामुखले शुक्रबारको बैठकमा शून्य समय, विशेष समय र आकस्मिक समय केही पनि नरहेको जानकारी गराउँदै भने, ‘माननीय सदस्य, आज हामीले शून्य समय, विशेष समय र आकस्मिक समय केहि पनि नराख्ने निर्णय गरेका छौ । त्यसैले म माननीय सदस्य आज शून्य समय, विशेष समय र आकस्मिक समय नरहेको व्यहोरा जानकारी गराउदछु ।’ सभामुखले यसो भनिरहदाँ प्रतिनिधि सभाका सदस्य समेत रहेका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बोल्नका लागि हातका बाहुला खुम्च्याएर तयारी अवस्थामा उभिए । प्रतिपक्ष दल काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपक्षी दललाई बोल्न दिनुपर्ने माग गरे ।

सभामुखले नियमित कार्यसूचीलाई अघि बढाउनका लागि अनुरोध गरे । उनले भने, ‘माननीय सदस्य, आज हाम्रा नियमित काम कारवाही अगाडी लानुपर्छ भन्ने हाम्रो कोशिस जारी छ । अहिले जे विषयलाई लिएर खासगरी प्रमुख प्रतिपक्ष दलका माननीय सदस्यले माग राखिरहनुभएको छ वा सहकारीसँग सम्बन्धित रहेर छलफल चलिरहेको छ । हामीलाई थाहाँ पाएसम्म कार्यदलमा पनि छलफल जारी छ । त्यसैले गर्दा हाम्रो सभा पनि अगाडी बढाउदैँ गरौ र त्यहाँबाट निष्कर्ष निस्किनेमा आशाबादी छौ । त्यसैले म माननीय सदस्यलाई आसन ग्रहण गरेर अब नियमित काम कारवाहीलाई अघि बढाउनका लागि अनुरोध गर्दछु ।’

प्रमुख प्रतिपक्ष दलका सांसदले हो–हल्ला गर्दै हात उठाएर बोल्न पाउनुपर्ने माग गरे । महामन्त्री शर्माले बोल्नका लागि समय पाउ सभामुख महोदय भन्दै माग गरे । फेरी पनि सभामुखले नियमित कार्यतालिकामा नै बोल्नका लागि अनुरोध गरे ।

उनले भने, ‘माननीय सदस्य, अब हामी बोल्नेक्रम पनि बिषय अन्तरगत नै राखौ । हामीले विशेष समय, आकस्मिक समय र शून्य समय नराखेर अगाडी जानुपर्ने अवस्थाको बारेमा मैले यहाँहरुलाई जानकारी गराए ।’ काँग्रेस सांसदले बोल्न पाउनुपर्ने माग र होहल्ला गरिरहे । महामन्त्री शर्माले बोल्दै भने, ‘प्रतिपक्ष उभिरहेका बेलामा बोल्न समय उपलब्ध गराउनु सभामुखको कर्तव्य हो भन्ने हामी ठान्दछौं सभामुख महोदय ।’

सभामुखले पनि नियमावली अनुसार नै बैठक अघि बढाउन खोजेको स्मरण गराउँदै भने, ‘माननीय सदस्य, हामी नियमावली अन्तरगत नै कार्यक्रमलाई अघि बढाउन गइरहेका छौ । त्यसैले गर्दाखेरी हाम्रो कार्य व्यवस्था परामर्श समितिमा पनि परिस्थितिलाई सहज बनाउनका लागि बैठकलाई अघि बढाउने र यो विचमा बसेरै छलफल टुग्याउनका लागि कोशिस भइरहेको कुरा पनि माननीय सदस्यलाई जानकारी गराउँदछु ।’

महामन्त्री शर्माले थप्दै भने, ‘सभामुख महोदय, प्रतिपक्षले बोल्नु भनेको परिस्थितिलाई असहज बनाउनु हो भन्ने तरिकाले बुझ्न हु्दैँन ।’

सभामुखले फेरी पनि बैठकलाई अघि बढाउनका लागि सहयोग गर्न प्रतिपक्ष दलका सांसदलाई आग्रह गरे । प्रमुख सचेतक लेखकले बोल्न पाउनुपर्ने माग दोहोर्याउदैँ भने, ‘हामीलाई बोल्न दिनुपर्यो सम्माननीय सभामुख महोदय । बोल्न दिनुपर्यो ।’ महामन्त्री शर्माले पनि थप्दै भने, ‘प्रतिपक्षले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बनाउदैँ हुनुहुन्छ सभामुख महोदय ?’ फेरी काँग्रेस सचेतक लेखकले पनि थप्दै भने, ‘प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय । मेरो आग्रह छ । प्रतिपक्ष सदनमा बोल्न पाएन भने बोल्ने कहाँ हो ? यसरी संसदीय अभ्यास कसरी अगाडी बढ्छ ?’

त्यसपछि सभामुखले नियमित कार्यसूचीमा प्रवेश नगर्ने र नबोल्न उल्टै सभामुखले सदनमा बोल्न दिएन भनेर कुप्रचार गर्ने गरेकोमा आक्रोश पोख्दै भने, ‘माननीय सदस्य, सदन नियम अन्तरगत नै चलाउने हाम्रो कर्तव्य हो । माननीय सदस्यको बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन । बोल्ने वातावरण कसरी बनाउने र कसरी अगाडी लाने भन्ने कुरामा सत्ता पक्ष पनि प्रतिपक्ष पनि त्यतिकै जवाफदेही छ त्यतिकै जिम्मेवार छ र जिम्मेवारीका साथ लिनका लागि म माननीय ज्यूलाई आसन ग्रहण गर्नका लागि अनुरोध गर्छु र आसन ग्रहण गरेर वातावरण बनाइदिनुहोस । सदन विधि सम्वत ढंगबाट अघि बढाउने र बोल्ने, छलफल गर्ने र निष्कर्ष निकाल्ने हो भन्ने कुरा म माननीय ज्यूलाई अवगत गराउँछु ।’

त्यसपछि पनि प्रमुख प्रतिपक्षले निरन्तर बोल्न पाउनुपर्ने आवाज उठाइरह्यो । प्रमुख सचेतक लेखकले थप्दै भने, ‘सदनमा बोल्न नै नदिएपछि त बोल्न दिइएन भन्नै पर्ला लिन सभामुख महोदय । भोलि पर्सि पनि बोल्न पाएनौ भने बोल्न पाइएन भन्नु त स्वभाविक नै हो नि सम्माननीय सभामुख महोदय ।’

सभामुखले यस अघि पनि निन्तर बोल्ने मौका दिएको जानकारी गराउदैँ नियमित कार्यसूची अनुसार अघि बढ्नका लागि अनुरोध गरे ।

उनले भने, ‘माननीय सदस्य, हामीले यो भन्दा अगाडी यहि सत्रमा पटक–पटक बोल्नका लागि आग्रह गरेको कुरालाई पनि स्मरण गराउदछु । तलबाट नबोल्दा रोष्टममा आएर बोल्नका लागि आग्रह गरेको कुरा पनि स्मरण गराउदछु । सम्भावित कार्यसूची वितरण गरेको, त्यपछि आज अन्तिम कार्यसूची वितरण गरेकोमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि नाम टिपाउनका लागि अनुरोध गरिएकोदेखि लिएर संशोधन हाल्नका लागिसमेत अनुरोध गरिएको छ । यी सबै कुरामा माननीय ज्यूको साथ समर्थनका साथमा नै यो सदनमा छलफल गर्ने, बहस गर्ने र निष्कर्षमा पुर्याउनकै लागि नै नीति तथा कार्यक्रममा छलफल हुने भएकाले अहिले आसन ग्रहण गरेर माननीयज्यूले समयको सदुपयोग गर्नका लागि साथ दिनुस् । त्यही अनुरोधका साथ आसन ग्रहणका लागि आग्रह गर्दछु ।’

सभामुख लगत्तै प्रमुख सचेतक लेखकले प्रतिपक्षले आफ्नो कुरा सदनमा राख्न पाउनुपर्ने माग राख्दै भने, ‘सम्मानीय सभामुख महोदय, विपक्षी दलले सदनमा नबोल्दा संसदीय अभ्यास कसरी अघि बढ्छ ? पक्कै पनि बढ्दैन । त्यसैले विपक्षी दलले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्छ ।’

लगत्तै सभामुखले पनि थप्दै भने, ‘माननीय सदस्यलाई फेरी पनि आग्रह गर्दछु, हामी बिधि सम्वत तरिकाले बोल्दै आएका छौ र बोल्दै जानेछौ । त्यसका लागि सबै माननीय ज्यूले वातावरण बनाउनुपर्छ र विधि र हाम्रो व्यवस्थामा खासगरी नियमावली अन्तरगत तय भएको प्रणालीबाट अगाडी जानका लागि माननीय ज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु ।’

सभामुखले फेरी पनि प्रतिपक्ष दललाई प्रतिपक्ष दलले उठाएको विषयमा गठन भएको कार्यदलले काम गरिरहेको भन्दै नियमित कार्यसूचीलाई अघि बढाउन अनुरो गरे ।

उनले भने, ‘माननीय सदस्य, यहाँहरुले सदन सञ्चालन गर्न सहयोग गर्नुहुनेछ । समस्या समाधान गर्नका लागि कार्यदललाई सहयोग पुर्याउनुहुनेछ र हामीले अब पुरा गर्नुपर्ने राष्ट्रको अगाडी यो सत्रमा गर्नैपर्ने महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्ने कुरामा भूमिका गर्नका लागि अनुरोध गर्दछु र त्यहि आशा र अपेक्षा गर्दछु । त्यसैले गर्दाखेरी माननीय सदस्य, आसन ग्रहण गरिदिनुस र विधि सम्वत ढंगबाट सदनलाई छलफलको केन्द्र बनाउ । त्यसै अनुसार अगाडी जानका लागि माननीय ज्यूलाई अनुरोध गर्दछु, माननीय सदस्य ।’

प्रतिपक्ष दलका सांसदले फेरी पनि होहल्ला गर्दै आफुहरुले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपछि सभामुखले प्रतिपक्ष दलको सहयोग नरहेको भन्दै शुक्रबारको दैनीक कार्यसूचीमा रहेका सबै कार्यतालिका हटाएर आगामी आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर