सिरोहिया प्रकरणमा ओलीको प्रश्न- फौजदारी मुद्दामा मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा डेमोक्रेसी खतरामा पर्छ ? – Nepal Press

सिरोहिया प्रकरणमा ओलीको प्रश्न- फौजदारी मुद्दामा मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा डेमोक्रेसी खतरामा पर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको पक्षमा उभिरहेको बेलामा झापा पुगेका ओलीले बुधबार सिरोहियालाई गृहमन्त्रीको समाचारसँग जोडिएर पक्राउ गरिएको भनिएको कुरामा सत्यता नभएको जिकिर गरे ।

त्यसबारे ओलीको भनाइ जस्ताको तस्तैः

त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।

त्यस सम्बन्धमा फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए । सही हो कि गलत भयो, म त्यता जान चाहन्न । टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला ।

तर, डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।

एउटा मिडियाले लेखेकै भरमा पक्राउ पुर्जी जारी गर्नुपर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी थप्छन्, ‘के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको आरोप उनीमाथि लागेको हो ? के छ ? मलाई त्यति थाहा भएन । के लेखेको विषयमा भनेको छ सरकारले ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? त्यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । देशमा सबै कानूनका मातहतमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर