एमालेले मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई ३ दिने प्रशिक्षण दिँदै – Nepal Press

एमालेले मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई ३ दिने प्रशिक्षण दिँदै

बारा । मधेश प्रदेशमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अध्यक्ष तथा प्रदेश पदाधिकारीहरू सम्मिलित तीन दिने प्रशिक्षण शिविर बर्दिबासमा सुरु भएको छ ।

नेकपा एमाले स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको र तथा नेकपा एमाले मधेश प्रदेश कमिटीको व्यवस्थापनमा सुरु भएको शिविरको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले विगतको सरकार देश र जनताप्रति उत्तरदायी हुन नसकेका कारण एमालेसहितको नयाँ समीकरण बनेको बताए ।

उनले नयाँ सरकारलाई सफल बनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउन लागेको बताए । पोखरेलले एमाले जनताको चाहना पूरा गर्दै आगामी दिनलाई मिसन ८४ मा केन्द्रित गर्न लागेको बताए ।

मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता र प्रदेश सचिव मनोज पौडेलको सहजिकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरू रामऔतार यादव, कल्पना कटुवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपसचिव आरती भण्डारीले स्वागत गरेका थिए ।

प्रशिक्षणमा स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने, प्रणालीगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, स्थानीय विकास नयाँ सोच र नयाँ काम र स्थानीय तहको आर्थिक श्रोत परिचालन तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर