नेपाली ट्रककाे कथामा बन्यो अमेरिकामा फिल्म, निर्देशक रन भन्छन् : नेपाली समाज यसमा चित्रण गरेको छु – Nepal Press

नेपाली ट्रककाे कथामा बन्यो अमेरिकामा फिल्म, निर्देशक रन भन्छन् : नेपाली समाज यसमा चित्रण गरेको छु

वाशिङ्गटन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् ।

‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् ।

अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशि छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।

नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन् । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूर्ण आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूर्ण साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।

ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्‍याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ ।

डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् ।

केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न फिल्म महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर