सदनमा खिमलालले भने- ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् – Nepal Press

सदनमा खिमलालले भने- ओली राजनेता हुन्, फेरि फर्केर आउँछन्

काठमाडौं । सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् ।

‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन,’ मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै भट्टराईंले भने, ‘फेरि पनि राजनेता फर्केर आउँछ ।’

कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे ।

‘केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ तर पनि राजनीति उहाँकै वरिपरि घुमेको जस्तो हामी देख्छौं,’ उनले भने, ‘सदनमा आउँदा उहाँकै चर्चा हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा केपी ओलीकै फोबिया छ ।’

सडकमा केपी ओली एउटा आशलाग्दो नेता, एउटा आशलाग्दो सरकार थियो र जसलाई घेरबन्दीबाट हटाइयो भन्ने चर्चा हुने गरेको उनले दावी गरे ।

‘तर, जसबाट आसा गरिएको थियो, उसलाई घेराबन्दी गरियो,’ भट्टराईले भने, ‘गुटबन्दीबाट उसलाई हटाउने काम भयो । मुद्दामामिलाबाट हटाउने काम भयो । सीधा बाटोबाट पनि होइन । ढोकाबाट होइन झ्यालबाट हटाइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर