गगनले भने- संसद सरकारसँग होइन सरकार संसदसँग डराउनुपर्छ – Nepal Press

गगनले भने- संसद सरकारसँग होइन सरकार संसदसँग डराउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अघिल्लो सरकार संसदलाई हेप्ने र अदालतालई हप्काउने परिचय बनाएर बिदा भएको भन्दै यो सरकारलाई त्यस्तो गर्ने छुट नभएको बताएका छन् ।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आसेपासेलाई पोस्ने, बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार पर्ने,’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा थापाले भने, ‘यस्तै-यस्तै परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

उनले नयाँ सरकारलाई यस्तो गर्न नदिने बताए । थापाले भने, ‘नयाँ सरकारलाई कुनै पनि अपराध गर्न छुट छैन् । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने छ । न त यो संसदलाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन दिइनेछ, न त छल्न ।’

अहिलेको सरकार संसदसँग डराउनुपर्ने भन्दै थापाले भने, ‘यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्छ,’ उनले भने, ‘संसदको प्रश्नसँग, संसदको निगरानीसँग डराउनुपर्ने छ । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ । यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको पनि छ ।’

पुन:स्थापित प्रतिनिधिसभाप्रति गुमेको जनविश्वासलाई पनि पुन:स्थापित गर्नुपर्ने थापाको भनाइ छ । ‘संविधानको धाराले प्रतिनिधिसभा पुन:स्थापित भयो अनि सांसदको अधिकारले सरकार,’ उनले भने, ‘सभामुख र हाम्रो कर्मले यो प्रतिनिधिसभाप्रति गुमेको जनविश्वासलाई पुन:स्थापित गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर