रामचन्द्र पौडेललाई नेपाली कांग्रेसको दर्ता खारेज हुने डर (भिडियो) – Nepal Press

रामचन्द्र पौडेललाई नेपाली कांग्रेसको दर्ता खारेज हुने डर (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १६-१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको बैधानिकता खारेज हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न उनले सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

पार्टीका केन्द्रिय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’ को विमोचन गर्दै उनले पार्टीको केन्द्रिय कार्यसमितिको र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे ।

पार्टीको बैधानिकतालाई जोगाउन यसो गरेर अघि बढनु बाध्यकारी रहेको उनको भनाइ थियो ।

‘हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं । पार्टीको बैधानिकतालाई जोगाउनका लागि केन्द्रिय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्‍यो ।’

वरिष्ठ नेता पौडेलले शुक्रबार (आज) विहान बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रिय कार्यसमिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि औंल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर