लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने – Nepal Press

लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

रुपन्देही । सत्तापक्ष र विपक्षी गठबन्धनको पेचिलो विषय बनेको लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/ ०७९ को बजेट माथिको छलफल सकिएको छ ।

असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो । सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो ।

मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।

त्यस्तै बजेट कार्यकर्तालाई बांडिएको भन्दै आलोचनासमेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए ।

मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रकृयामा लगेको आंकलन गरिएको छ ।

सरकारले विपक्षी गठबन्धनले उठाएजस्तैगरी सरकारसंग बहुमत नगुमेको जनाएको छ । सरकारमा सहभागी जसपाका ३ सहित ४ सांसदको अदालती टुंगो र एमालेबाट माओवादी प्रवेश गरेकी सांसद विमला वलीलाई एमालेले कारबाही गर्न पठाएको प्रकृया अगाडि नबढ्दासम्म एमालेले कानुनीरुपमा आफ्नो राजनीतिक बहुमत भएको दावी गर्दै आएको छ । यही कारणले पनि यो विषय दुवै पक्षको लागि पेचिलो बनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर