युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य – Nepal Press

युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य

काठमाडौं । युरो २०२० को फाइनल पुग्नका लागि इङ्यान्ड सहज बाटोमा देखिन्छ । यद्यपि, जारी संस्करणका कुनै पनि टोलीविरुद्ध खेल्न सहज हुन्छ भन्नु मुर्खता सावित हुने स्पष्ट छ ।

ग्यारेथ साउथगेटको इङ्लिस टोलीसामु अब युक्रेन खडा छ । इटालीको रोममा शनिबार हुने क्वार्टरफाइनल एन्ड्री सेभ्चेन्कोको युक्रेनलाई हराउन सके इङ्ल्यान्डले फाइनल प्रवेशका लागि डेनमार्क र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

देशका सर्वकालिन महान् खेलाडीमध्ये एक खेलाडी तथा युक्रेनबाट एक मात्र बालोन डी’अर विजेता खेलाडी सेभ्चेन्कोको टोलीले अहिलेसम्ममा नै इतिहास रचिसकेको छ । युरोपियन च्याम्पियनसिपको इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको युक्रेन के सेमिफाइनल पुग्ला त ?

युक्रेनको लय कस्तो ?

सन् २००६ पछि पहिलो पटक ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको युक्रेन युरोमा भने पहिलो पटक अन्तिम ८ मा पुगेको हो । समूह चरणबाट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको युक्रेनले नर्थ मेसिडोनियाविरुद्ध २-१ को जित तथा नेदरल्यान्ड्स र अस्ट्रियाविरुद्ध क्रमश: ३-२ र १-० को पराजय बेहोरेको थियो ।

विश्व बरियताको २४औं स्थानमा रहेको युक्रेनले अहिलेसम्म इङ्ल्यान्डलाई एक पटक मात्रै पराजित गरेको छ । सन् २००९ मा भएको विश्वकप छनोटमा युक्रेनले इङ्लिस टोलीविरुद्ध १-० को जित हासिल गरेको थियो ।

कूल सात पटकको प्रयासमध्ये एक पटकमा मात्र युक्रेनले नतिजा आफ्नो पक्षमा पारेको छ । तीमध्ये एक जित २०१२ युरोको समूह चरणमा थियो । इङ्ल्यान्ड १-० ले विजयी भएको त्यो खेलमा वाइन रूनीले एक मात्र निर्णायक गोल गरेका थिए । यी दुई टोलीबीचको अन्तिम भिडन्त भने २०१४ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा फ्रान्क लाम्पार्डले गरेको गोलमा इङ्ल्यान्ड हारबाट जोगिएको थियो भने नतिजा १-१ को बराबरीमा टुङ्गिएको थियो ।

सेभ्चेन्कोको युक्रेनी टोली विश्वकप छनोट चरणमा समूहमा तेस्रो स्थानमा छ । युक्रेनले सुरुआती तीन खेलबाट ३ अंक जोडिसकेको छ ।

यसै वर्ष भएका खेलहरूमा युक्रेनले फ्रान्स, कजाकस्तान र फिनल्यान्डसँग बराबरी खेलेको थियो ।

यार्मोलेन्को- एक खतरा खेलाडी

युक्रेनसँग भएको सबैभन्दा ठूलो अस्त्र हुन्, वेस्ट ह्याम युनाइटेडका एन्ड्री यार्मोलेन्को । शनिबारको खेलका लागि यार्मोलेन्को तयार हुन्छन् कि हुँदैनन् भन्ने सेभ्चेन्कोका लागि चिन्ताको विषय हुनसक्छ । यार्मोलेन्कोलाई कुनै पनि हालमा बेन्चमा सीमित गर्न चाहँदैनन् । उनी स्वीडेनविरुद्धको प्रि-क्वार्टरफाइनलको खेलमा अतिरिक्त समयको पहिलो हाफमा चोटका कारण बाध्य भएर सब्स्टिच्युट भएका थिए ।

गत सिजन डेभिड मोयेसको वेस्ट ह्यामबाट १५ खेल मात्र खेलेका ३१ वर्षीय यार्मोलेन्कोले युक्रेनका लागि सुरुआती तीन खेलमा दुई गोल तथा एक असिस्ट गरिसकेका छन् ।

बोरुसिया डर्टमन्डका पूर्व फरवार्ड यार्मोलेन्कोले ह्याम्पडेनमा स्वीडेनविरुद्ध तीन उत्कृष्ट पास निकालेका तथा ओलेक्सान्डर जिन्चेन्कोको गोलका लागि उत्कृष्ट असिस्ट प्रदान गरेका थिए । योसँगै ठूला प्रतियोगितामा कुनै पनि ठूला प्रतियोगितामा पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट भएका यार्मोलेन्को दोस्रो खेलाडी बनेका छन् । यसअघि प्रशिक्षक सेभ्चेन्कोको पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट थियो ।

उत्कृष्ट फर्ममा भएका यार्मोलेन्को र कप्तान जिन्चेन्कोको उच्च मनोबलप्रेरित युक्रेन इङ्ल्यान्डविरुद्ध जित निकाल्दै पहिलो पटक युरोपियन सेमिफाइनलमा पुग्न चाहन्छ ।

यद्यपि, १९६६ पछि पहिलो पटक ठूला प्रतियोगिताको नकआउटमा जर्मनीलाई पराजित गरेको इङ्ल्यान्डविरुद्धको खेल युक्रेनका लागि फलामको चिउरा चपाउनु समान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर