आफ्नै बोली बिर्सिएर विचाराधीन मुद्दामा आन्दोलनको नेतृत्व गर्दै देउवा – Nepal Press

आफ्नै बोली बिर्सिएर विचाराधीन मुद्दामा आन्दोलनको नेतृत्व गर्दै देउवा

काठमाडौं । गत पुस ५ मा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा नेपाली कांग्रेसभित्र आन्दोलन चर्काउने विषयमा शीर्ष नेताहरूबीच मतभेद देखियो । सभापति शेरबहादुर देउवाले पटक-पटक संसद विघटनको विषय अदालतमा विचाराधीन भएकोले सडकबाट अदालतलाई दबाब दिन नहुने बताए ।

‘संसद विघटन संविधानविपरीतको कदम हो भन्ने लाग्दछ । तर यो मुद्दा अदालतमा विचारधीन भएको, स्टे अर्डर नदिइकन सुनुवाइ भइरहेकोले अदालतले जे निर्णय दिन्छ मान्नुपर्छ । अदालतमा भएका केसहरूमा जुलुस निकालेर यही गर् भनेर प्रेस गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्ने हो भने त देशमा सधैँ जुलुस हुन्छ’, देउवाले गत पुस २५ गते सार्वजनिक कार्यक्रममा भनेका थिए ।

अहिले देउवाकै नेतृत्वमा संसद विघटनलगायत अदालतमा विचाराधीन मुद्दामा सडक आन्दोलन गर्ने निर्णय भएको छ । विपक्षी गठबन्धनको बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले संसद विघटनको कदमविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको हो । विपक्षी गठबन्धनका सबै शीर्ष नेता संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटका निवेदक रहेका छन् ।

विगतमा संसद पुनःस्थापना र सडक आन्दोलन लगायतका एजेण्डामा सहमत नभएका देउवा अहिले भने आफ्नै नीतिविपरीत आन्दोलनका लागि किन तयार भए ? यसबारे कांग्रेसकै नेताहरू अलमलमा छन् । ‘अहिले आफूलाई प्रधानमन्त्री नबनाएको रिस फेर्नपनि आन्दोलन गर्न मन भयो होला । हिजो हामीले संसद पुनःस्थापनाका लागि आन्दोलन गरौं भन्दा सभापतिनिकट साथीहरु स्वतन्त्र न्यायालयको गफ दिनुहुन्थ्यो’, देउवाइतर समूहका एक कांग्रेस नेताले भने । देउवा समूहका नेताहरू भने सडकमार्फत सरकारका असंवैधानिक कदमविरुद्ध अभिमत व्यक्त गर्न आवश्यक देखिएको तर्क गर्छन् ।

अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्ने गठबन्धनको निर्णयको सत्तारुढ नेकपा एमालेले पनि आलोचना गरेको छ । एमाले नेता गोकुल बाँस्कोटाले सर्वोच्च अदालतबाट निर्दल स्थापना गर्न विपक्षी गठबन्धनले अदालतलाई दबाब दिनेगरी सडकमा उत्रन खोजेको आरोप लगाएका छन् ।

के भनेका थिए पहिले देउवाले ? हेर्नुस् भिडियो:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर