संवैधानिक इजलासमा आजबाट देउवाको रिटमाथि निरन्तर सुनुवाइ – Nepal Press

संवैधानिक इजलासमा आजबाट देउवाको रिटमाथि निरन्तर सुनुवाइ

काठमाडाैं । प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तर सुनुवाइ हुन लागेको छ । बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै ३० वटा रिट परेकोमा सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिटउपर सुनुवाइ हुनेछ ।

यसअघि जेठ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित वरिष्ठताका आभारमा गठित दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरी रिटमा विपक्षी बनाइएका सरकारपक्षलाई आजसम्म जवाफ पेस गर्न समय दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै जवाफ बुझाइसकेका छन् ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले सुरूमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा बहस गर्न पाउनेछन् । त्यस्तै विपक्षीलाई पनि १५ घण्टाको समय दिइएको छ ।

निरन्तर बहस हुँदा संवैधानिक इजलासको फैसला आउन धेरै समय नलाग्ने कानूनका जानकारहरु बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर