मिडियामैत्री बजेट आएको भन्दै लुम्बिनीका पत्रकार खुसी – Nepal Press

मिडियामैत्री बजेट आएको भन्दै लुम्बिनीका पत्रकार खुसी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि पत्रकार र मिडियामैत्री कार्यक्रमका लागि बजेट विनियोजन गरेको भन्दै पत्रकार महासंघ र सञ्चारसम्बद्ध संस्थाहरुले खुसी व्यक्त गरेका छन् ।

सरकारले सञ्चारकर्मी कल्याणकारी कोष स्थापनाको लागि ५० लाख र प्रदेशमा सूचीकृत र आवद्ध छापा तथा अनलाइन सञ्चार माध्यमसँग सहकार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पत्रकार महासंघले माग गरेका कार्यक्रमको आधारमा शाखाहरुको कायालय मर्मत सुधारको लागि यो वर्ष अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, पाल्पाको लागि ५ लाखका दरले बजेट विनियोजन बजेटमा गरिएको छ ।

सरकारले टेलिभिजन कार्यक्रम सहकार्य अनुदान ५० लाख र एफएम रेडियो कार्यक्रम प्रसारण सहकार्य अनुदानका लागि एक करोड विनियोजन गरेको छ । पत्रपत्रिका र अनलाईका लागि ५० लाख बजेट विनियोजन भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ र वानको सदस्यहरुका लागि उपकरण खरिदका लागि ५ लाख, सञ्चारसंग सम्बद्ध संघसस्था तथा क्लबलाई मेसिनरी औजार तथा फर्निचर खरिदका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

विकास र सुशासनसम्बन्धी खोजमूलक लेख फिचरका लागि २० लाख, प्रदेश भरका पत्रकार सम्मानका लागि ५ लाख तथा पत्रकारको क्षमता बृद्विका लागि १० लाख रुपैयाँ बजेट विनियोजन सरकारले गरेको छ ।

राप्ती उपत्यकामा र रुपन्देहीमा सामुदायिक सञ्चार गृह निर्माणको लागि ५–५ लाख रुपैयाँ र महिलाहरु मात्रले सञ्चालन गरेको रेडियोको उपकरण खरिदका लागि ५ लाख बजेट विनियोजन भएको छ ।

अग्रज पत्रकार तथा पत्रकार महासंघसंग भएको छलफल तथा सुझावको आधारमा बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले बताए । उनले पत्रकार र मिडियाको विकासमा सहयोग गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै मिडियामैत्री प्रदेश सरकार बनाउन आफूहरु लागिपरेको बताए ।

पत्रकार महासंघका निवर्तमान प्रदेश उपाध्यक्ष भरत केसीले सञ्चार क्षेत्रमा आवश्यक बजेट व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यसँग भएको पूर्व छलफलमा दिएका धेरै विषय समेटिएको बताए ।
लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले नेपाल पत्रकार महासंघले दिएका धेरै सुझावहरु बजेटमा आएको बताउँदै अब सोहीअनुसार संसदमा पेश भएको मिडिया विद्येयक पुनःलेखन गर्न माग गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर