निषेधाज्ञा कहिले खुल्छ ? संक्रमणदर ५ प्रतिशतमा झरेपछि ! – Nepal Press

निषेधाज्ञा कहिले खुल्छ ? संक्रमणदर ५ प्रतिशतमा झरेपछि !

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा अढाई महिनाअघि (वैशाख १६) बाट निषेधाज्ञा लागू गरियो । राजधानीको मोडल पछ्याउँदै अन्य जिल्लाले पनि असार ७ गते मध्यरातसम्म निषेधाज्ञा कायमै राखेका छन् । ७७ जिल्लामध्ये हिजोसम्म खोटाङ र मनाङमा भने निषेधाज्ञा जारी गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । १५ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो साता परीक्षणमा कमी आइरहेको बेला मन्त्रालयले परीक्षण नघटाउन अनुरोधसमेत गरेको छ ।

देशभर कुल परीक्षण गरिएकामध्ये संक्रमण दर १८.९ प्रतिशतमै स्थिर छ । पछिल्लो सातासम्म काठमाडौं उपत्यकाको संक्रमण दर २२.७२ प्रतिशत कायमै छ । सोमबारसम्म काठमाडौंको सक्रिय संक्रमित संख्या ८,१८२, भक्तपुरको २,४३४ र ललितपुरको ३,४४२ छ । मन्त्रालयका अनुसार मुलुकमा सक्रिय संक्रमित ६५ हजार ८०४ छन् ।

परीक्षणको दायरा घटेसँगै संक्रमित संख्या घटेपनि संक्रमणको दर भने स्थिर नै छ । निषेधाज्ञाको शुरूआती दिनमा स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने गरी संक्रमण र मृत्युदर बढेको थियो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना पुग्नै लाग्दा संक्रमण र मृत्युदर घटेको छ । स्वास्थ्य संस्थामा पनि बिरामीको चाप कम छ । शय्या र अक्सिजन अभावमा मृत्यु तथा आँगनमा राखेर उपचार गराइरहनुपर्ने बाध्यता अहिले छैन । निषेधाज्ञा लागू गरिएपछि संक्रमण दर ५ प्रतिशतभन्दा कम हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण थियो । तर, निषेधाज्ञा लागू भएको दुई महिना हुनै लाग्दा पनि संक्रमण दर ३० प्रतिशतमै स्थिर छ ।

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा निषेधाज्ञाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसको मोडालिटीबारे गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय अन्योलमा देखिएका छन् । अर्थतन्त्र र सामाजिक जीवनसँगै निषेधाज्ञालाई अगाडि बढाउनुपर्ने दबाब जिल्ला प्रशासनलाई छ । तर, तत्काल निषेधाज्ञा खुला गर्दा प्रि-लकडाउन अगाडिकै अवस्थामा संक्रमण दर फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले ती निकायलाई सचेत गराइरहेको छ ।

संक्रमण दर ५ प्रतिशतभन्दा कम नहुँदासम्म सार्वजनिक यातायात र शैक्षिक संस्था खोल्न नहुने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । ‘संक्रमणदर १० प्रतिशतभन्दा कम हुँदै गएमा चरणबद्ध रूपमा खोल्ने हाम्रो योजना छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले नेपाल प्रेससँग भने, ‘संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमा सार्वजनिक स्थान र विद्यालय खोल्न सकिने हाम्रो आंकलन छ ।’

मन्त्रालयले उपत्यकाको संक्रमण दर ५ प्रतिशत नहुँदासम्म जारी निषेधाज्ञालाई प्रभावकारीरुपमा कायमै राख्न भन्दै गृह मन्त्रालय र जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको यही सुझावका आधारमा आफूहरु अघि बढेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘मन्त्रालयले संक्रमण दर ५ प्रतिशतभन्दा कम नभएसम्म कडाइ गर्नको लागि सिफारिस गरेको छ र सोही अनुसार हामी अघि बढिरहेका छौं’ ललितपुरका सीडीओ निरौलाले नेपाल प्रेसलाई भने ।

संक्रमण घटेको र मनसुन भित्रिएसँगै खेतीपातीको कामलाई पनि अघि बढाउनुपर्ने भएकाले तीनै सीडीओहरू निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्नुपर्ने मनस्थितिमा थिए । तर, स्वास्थ्य मन्त्रालयले संक्रमण दर नघटेको र परिस्थितिको विश्लेषण नगरी एकैपटक लकडाउन खोल्दा पुनः संक्रमण व्यापक हुनसक्ने भन्दै तत्काल अन्य क्षेत्र खोल्ने योजनाबाट उनीहरू पछि हटे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल अझै केही समयसम्म सार्वजनिक यातायात र विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् ।

‘निषेधाज्ञाको प्रभाव अहिले सकारात्मकरूपमा परेको छ र स्वास्थ्य संस्थामा पहिलेजस्तो चुनौती पनि छैन’ पौडेलले भने, ‘उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झर्‍यो भने के-के गर्ने भनेर मन्त्रालयका टोलीहरूले काम गरिरहेको छ । यसबारे हामी छिट्टै टुंगोमा पुग्छौं ।’ काठमाडौं उपत्यकामा सोमबार ६०७ जना संक्रमित थपिएका छन् जो निकै राहतपूर्ण तथ्यांक हो तर, संक्रमणको दर भने उच्च छ । संक्रमणदर जति धेरै भयो उति नै समुदायमा संक्रमणको जोखिम उच्च हुने विज्ञहरू बताउँछन् ।

निषेधाज्ञा कहिलेदेखि खुल्छ त ? यो प्रश्नको यकिन जवाफ स्वयम् स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासनहरूको पनि छैन । ‘जति नागरिकले स्वास्थ्य मापदण्डको पालना गर्छन्, उति नै चाँडो संक्रमण दर पनि घट्छ’ ललितपुरका सीडीओ निरौला भन्छन्, ‘पुनः लापर्बाही बढे हामी योजनाअनुसार अघि बढ्छौं ।’ स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको एउटै उत्तर छ- ‘संक्रमणदर १० प्रतिशतभन्दा कम भए मात्र सार्वजनिक यातायात र विद्यालय खुलाउन सकिन्छ ।’

काठमाडौं विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा। अर्चना श्रेष्ठ संक्रमण दर नघट्नुले समुदायमा अझै जोखिम कायमै रहेको बताउँछिन् । ‘हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौं । अवस्था त्यति सहज चाहिँ होइन’ उनले भनिन्, ‘सहज अवस्था भन्नका लागि परीक्षण गराएकामध्ये ५ प्रतिशतभन्दा कममा संक्रमण देखिनुपर्छ ।’ अहिले जारी गरिएको निषेधाज्ञाको समयमा पनि आवागमन ६० देखि ७० प्रतिशतको हाराहारीमा मात्र घटेको तथ्यांक मन्त्रालयसँग छ ।

डा. श्रेष्ठ ८० देखि ९० प्रतिशत आवागमन रोकिएका निषेधाज्ञाहरूले छिटो नतिजा दिने गरेको तर, नेपालमा त्यसो हुन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘संक्रमित हुने दर ५ प्रतिशतभन्दा कममा झार्न सकिएको भए बल्ल हामीले त्यसको प्रवृत्ति केलाउँदै सहज ढंगले नियन्त्रणका प्रयास गर्न सक्थ्यौं ।’

स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुलाउनुअघि मुख्य तीन पक्षलाई मध्यनजर गरिरहेको छ । पहिलो- विश्व स्वास्थ्य संगठनको निर्देशिका । दोस्रो- अस्पतालमा बेडको अवस्था र सेवाको वर्तमान अवस्था र तेस्रो- सक्रिय संक्रमित र संक्रमण दर । मन्त्रालयका प्रवक्ता पौडेलले यी तीनै कुरालाई ख्याल राखेर डीसीसीएमसीलाई सिफारिस गरिएको बताए । संक्रमण दर कहिले १० प्रतिशतमा झर्छ भनेर अहिले भन्न नसकिएकाले डीसीसीएमसीले निषेधाज्ञा खुलाउन नसकेको हो ।

अघिल्लो लहरमा सरकारले ५ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा लकडाउन खुलाएपनि अहिले पनि कम संक्रमित हुँदा पनि निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । तर, किन ? मन्त्रालयको भनाइ छ- पहिलेको भन्दा अहिलेको भेरियन्ट घातक र संक्रामक छ । दोस्रो लहरमा विश्वव्यापी कन्सर्न अफ भेरिएन्ट भनिने डेल्टा प्रजाति व्यापक फैलिएको मन्त्रालयको विवरण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर