अर्जुन नरसिंहको समाजसेवाः पैसा अरुको, नाम बुबाआमाको – Nepal Press

अर्जुन नरसिंहको समाजसेवाः पैसा अरुको, नाम बुबाआमाको

डा. केसी भन्छन्ः चोरेर ल्याएको हो र ?

काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले हिजो फेसबुकमा तस्बिरसहित एउटा स्टाटस लेख्दै आफूले हालै गरेको समाजसेवाबारे जानकारी दिए । नुवाकोटको दुर्गम तारकेश्वर गाउँपालिका र किस्माङ गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरु बाँडेको स्टाटसमा उल्लेख छ ।

केसीले लेखेअनुसार उनका स्वर्गीय आमाबुबाको नाममा स्थापित यसोदादेवी भगवान सिंह केसी ममोरियल ट्रस्टबाट बितरण गरिएको हो । स्वास्थ्य संस्थाहरुलाई ३/३ वटा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, मास्क र स्यानिटाइजर लगायतका सामग्री बाँडिएको स्टाटसमा उल्लेख छ । तस्बिरमा केसीका तीन दाजुभाइ डा. केदारनरसिंह केसी र बद्रीनरसिंह केसी देखिएका छन् ।

महामारीका बेला गज्जब काम गरेको भन्दै उनीहरुलाई धेरैले सह्राहना पनि गरेका छन् । तर, यसरी सामाजिक सञ्जालमा तारिफ बटुलिरहँदा केसीले गरेको ‘छलकपट’ बारे धेरैलाई पत्तो छैन । बितरण गरिएका सामग्रीहरुको वास्तविक स्रोत उनले लुकाएका छन् । उनले आफ्ना बाबुआमाको नामबाट स्थापित ट्रस्टबाट बाँडेको भनेर लेखे पनि ती सामग्री अरु नै संस्थाले उपलब्ध गराएको खुलासा भएको छ ।

सामग्री राखिएका केही कार्टुनमा अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को लोगो स्पष्ट देख्न सकिन्छ । आफूले दान गरेका सामग्रीमाथि एक नेताले दावी गरेको भन्दै एएनएमएफले आपत्ति जनाएको छ ।

सो संस्थाले ट्विटरमा लेखेको छ, ‘एएनएमएफले दान गरेका दुई अक्सिजन कन्सन्ट्रेटर एक राजनीतिज्ञले आफ्नो ट्रस्टले दिएको भन्दै झूटो दावी गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । यो नितान्त असत्य हो र हामी उहाँले यो कसरी प्राप्त गर्नुभयो भनेर अनुसन्धान गरिरहेका छौं । हामी यसको गहिराइसम्म पुग्ने प्रयास गर्नेछौं । यसले हाम्रा शुभचिन्तक र दाताहरुप्रति पर्न गएको अन्योलमा हामी क्षमाप्रार्थी छौं ।’

एएनएमफ नेपाल र नेपालका हितचिन्तक अमेरिकी डाक्टरहरुले मिलेर खोलेको संस्था हो । यसले नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न सरसहयोग गर्दै आएको छ ।

डा. केसी भन्छन्ः चोरेर ल्याएको हो र ?

डा. केसीले ट्रस्टद्वारा वितरण गरिएका सामग्री अन्यत्रबाटै उपलब्ध भएको स्वीकार गरेका छन् । उनले ती सामग्री कहाँबाट प्राप्त भएका हुन् भन्ने रेकर्ड ट्रस्टसँग भएको बताए ।

उनले भने, ‘मैले केही लुकाउन खोजेको छैन । लुकाउन चाहेको भए स्टिकर हटाउन सक्थेँ । हामीलाई कुन-कुन संस्थाले सहयोग गरेका हुन्छन् त्यसको सबै रेकर्ड डा. केदारनरसिंह केसीले राख्नुभएको छ ।’

आफू ट्रस्टको संरक्षकको हैसियतले स्वास्थ्य सामग्री वितरणमा सहभागी भएको उनले बताए ।

‘मैले स्टाटसमा पनि आफू सहभागी मात्रै भएको भनेको छु,’ उनले भने, ‘बाँडेको पनि केदारनरसिंहले नै हो ।’

केसीका अनुसार केदारनरसिंहले नेपाल मेडिकल एसोसिएसनबाट ती सामग्री ट्रस्टमा ल्याएका हुन् ।

‘मेडिकल एसोसिएसनलाई विभिन्न संस्थाहरुले दिएका सामग्रीको केही हिस्सा हामीले ट्रस्टमा ल्याएर लाभग्राहीसम्म पुर्याउने समन्वयकारी भूमिका खेलेका हौं । यसमा के गल्ति भयो ? चोरेर ल्याएका हौं र ?

डा. केदारनरसिंह केसी अर्जुन नरसिंहका साख्खै भाइ हुन् । बाबुआमाको नामबाट खोलिएको यसोदादेवी भगवान सिंह केसी ममोरियल ट्रस्टका अध्यक्ष हुन् उनी । विगतमा उनी नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष थिए । मेडिकल एसोसिएसनलाई विभिन्न संस्थाबाट आएका सामग्रीहरु केदारनरसिंहले आफ्नो पावर लगाएर ट्रस्टमा तानेका छन् ।

आफ्नो ट्रस्टले सहयोगमा प्राप्त सामग्रीहरुको कतै दुरुपयोग गरेको भए छानविन गरेर पत्ता लगाउन अर्जुन नरसिंहले चुनौति दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर