नैनकलाः शिक्षिकादेखि पहिलो महिला संचारमन्त्रीसम्म – Nepal Press

नैनकलाः शिक्षिकादेखि पहिलो महिला संचारमन्त्रीसम्म

बादल ‘आउट’, बर्खा ‘इन’

काठमाडौं । नैनकला थापालाई आजका दिनसम्म पनि रामबहादुर थापा बादलकी पत्नी भनेर चिनाउनुपर्थ्यो । तर, अब उनी अब आफ्नै नामबाट चिनिने छिन्, संचारमन्त्रीका रूपमा ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दा सबैभन्दा बढी चर्चा नैनकलाको भइरहेको छ । यसअघि उनी कहिल्यै पनि मूलधारको राजनीतिक परिदृष्यमा थिइनन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी जीवनसंगिनीमा उनको पहिचान सीमित थियो ।

यद्यपि, नैनकलाको आफ्नै राजनीतिक पृष्ठभूमि नभएको चाहिँ होइन । उनी राष्ट्रिय महिला आयोगकी अध्यक्ष भइसकेकी व्यक्ति हुन् । महिला आयोगकी अध्यक्ष हुँदा उनको नाम यदाकदा मिडियामा आउने गर्थ्यो । आयोगबाट बिदा भएपछि भने गुमनाम थिइन् । फेसबुकमा उनले आफ्नो नाम ‘बर्खा थापा’ लेखेकी छन् ।

नैनकला बाग्लुङमा जन्मेर बुटबलमा हुर्केकी हुन् । उनका बुवा भुपु गाेरखा सैनिक थिए । ५९ वर्षिया नैनकलाले बीए र बीएडको अध्ययन पूरा गरेकी छन् । उनी शिक्षण पेशाबाट राजनीतिमा आएकी हुन् ।  उनले बुटवलको कालिका मावि र चितवनको नारायणी माविमा पढाएकी थिइन् । ३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर नैनकलाको राजनीतिक जीवन सुरू भएको थियो ।

उनले २०३८ सालमा नेकपा चौमको सदस्यता लिइन् । त्यसपछि पार्टीनिकट महिला संगठन अनेमसंघमार्फत आफ्नो राजनीति अगाडि बढाइन् । २०४२ सालमा अनेमसंघको जिल्ला सचिव र २०४७ सालमा केन्द्रीय महासचिव हुँदै २०५० सालमा संयोजकका रूपमा अनेमसंघको नेतृत्व गरेकी थिइन् ।

नैनकला नेपालकै पहिलो महिला संचारमन्त्री पनि हुन् । यसअघि कुनै पनि प्रधानमन्त्रीले महिलालाई संचारमन्त्रालयको नेतृत्व दिएका थिएनन् । त्यस हिसाबले पनि उनी भाग्यमानी सावित भएकी छन् ।

पूर्वमाआवादीका प्राय नेतापत्नीहरू जनयुद्धकालमा श्रीमानसँगै भूमिगत जीवन बिताएका थिए । तर, नैनकला भने भूमिगत भइनन् । उनी शिक्षिका थिइन् । जनयुद्धकालमा पनि उनले आफ्नो शिक्षण पेशालाई नै निरन्तरता दिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ देखि ६८ सम्म उनले राष्ट्रिय महिला आयोगको अध्यक्षको जिम्मेवारी पाइन् । त्यससँगै उनले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको भूमिमा पनि निभाइन् । यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिलासम्वन्धी विज्ञ समूहको सदस्य भएर पनि काम गरिन् ।

बादलसँग नैनकलाको २०४० सालमा बिहे भएको हो । विवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन् । उनीहरूका १ छोरा र १ छोरी छन् ।

आयोगबाट बिदा भएपछि गुमनाम रहेकी नैनकलालाई देशको सत्तासमीकरणमा आएको परिवर्तनसँगै मन्त्री पद हात परेको छ ।

वर्तमान सरकारमा सहभागी भएका पूर्वमाओवादी नेताहरू अदालतको आदेशबाट पदमुक्त भएका थिए । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदमा पूर्वमाओवादीका नेतालाई पनि समेट्न चाहे । तर, एमालेमा पूर्वमाओवादीका नेताहरूको पंक्ति सानो छ । त्यसैले जुनियरले मौका पाउने अवस्था आयो । ओलीले दुईजना पूर्वमाओवादी नेतालाई मन्त्री बनाउँदा नैनकलाले अवसर पाएकी हुन् ।

सामाजिक सञ्जालमा नैनकलालाई मन्त्री बनाइएका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पूर्वमाओवादीको कोटामा बादलले आफ्नै पत्नीलाई मन्त्री बनाएकोमा धेरैले आलोचना गरेका छन् । सरकारमा श्रीमान-श्रीमती आलोपालो भनेर ट्रोल पनि भइरहेको छ । संचारजस्तो महत्वपूर्ण मन्त्रालय उनले थाम्न सक्नेमा पनि कतिपयको आशंका छ ।

सामान्यतया संचारमन्त्रीलाई सरकारको प्रवक्तासमेत बनाउने परम्परा छ । त्यस परम्परालाई ओलीले कायम राखे भने नैनकलाले सरकारको प्रवक्ताजस्तो महत्वपूर्ण भूमिका निभाउनुपर्ने छ ।

नैनकला नेपालकै पहिलो महिला संचारमन्त्री पनि हुन् । यसअघि कुनै पनि प्रधानमन्त्रीले महिलालाई संचारमन्त्रालयको नेतृत्व दिएका थिएनन् । त्यस हिसाबले पनि उनी भाग्यमानी सावित भएकी छन् ।

नैनकलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर ओलीले बादललाई खुसी पार्ने ध्येय राखेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर