कोभिड राहत कोषमा हेफरले डेढ करोड दिने घोषणा – Nepal Press

कोभिड राहत कोषमा हेफरले डेढ करोड दिने घोषणा

रुपन्देही । पाल्पाका स्थानीय तहहरुमा कोभिड राहत कोषका लागि सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपालले १ करोड ४९ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

प्राथमिकताको आधारमा यो रकम हेफरले परियोजना कार्यक्रम सञ्चालन गरेका ठाउँमा दिइने जनाइएको हो । यो अभियानको शुरुवात पाल्पाको तिनाउ गाउँपालिकालाई १५ लाख कोभिड राहतकोषका लागि दिएर शुरु गरेको हेफर इन्टरनेशन नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले बताए ।

स्थानीय साझेदार संस्था सामाजिक श्रोत विकास केन्द्र नेपालमार्फत गाउँपालिकालाई राहतकोष हस्तान्तरण गरिएको हो । सिलवालले कोभिड १९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिकामार्फत सञ्चालन गरिएका राहतका कार्यक्रममा साझेदारी गर्न यस्तो अभियान शुरु गरेको जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहहरुका लागि प्राथमिकताको आधारमा १ करोड ४९ लाख सहयोग गर्ने भन्दै यसको शुरुवात तिनाउ गाउँपालिकाबाट भएको उनको भनाइ छ ।

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले गाउँपालिकामा ६ सय जनाको कोभिड परीक्षण गर्दा २८५ जनामा पोजेटिभ देखिएको अवस्थामा हेफर इन्टरनेशनल नेपालले राहत स्वरुप उपलव्ध गराएको १५ लाख रुपैयाँले ठूलो सहयोग पुग्ने बताए ।

गाउँपालिकाको पहलमा २२ बेडको क्वारेन्टिन तथा १० बेडको अस्पताल बनाई सेवा प्रवाह गर्दै आएको र बजेट कमी हुँदै गएको अवस्थामा हेफर इन्टरनेशनल नेपालले गरेको सहयोगले हौसला थपिएको उनले बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले हेफर इन्टरनेशन नेपालबाट प्राप्त १५ लाख रुपैयाँको सहयोगले गाउँपालिकाको अभियानलाई निरन्तरता सहयोग पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर