वीरेन्द्रनगरका वडाध्यक्ष भन्छन्- प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि वडावासीको खर्च टार्छु – Nepal Press

वीरेन्द्रनगरका वडाध्यक्ष भन्छन्- प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि वडावासीको खर्च टार्छु

सुर्खेत । कोरोना भाइरस दोस्रो लहरको ‘चेनब्रेक’का लागि देशभरका लगभग सबै जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेको एक महिना पुग्न लागेको छ ।

बन्दाबन्दी लम्बिँदै जाँदा मजदूर वर्गमा ठूलो असर परेको छ । उनीहरुलाई खानकै समस्या हुन थालेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम सुनारले बन्दाबन्दीका कारण गरिवले खान नपाउने अवस्था सुरु भएको बताएका छन् ।

उनले आफ्नो वडामा २ हजार ४ सय घरधुरी रहेकोमा ६ सय भन्दा बढी परिवारलाई खानेकुराको समस्या हुन थालेको बताए ।

‘दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु सबैभन्दा बढी पीडामा पर्न थालिसकेका छन् । उनीहरुको घरमा चामल तेल रित्तन लागेको गुनासो आउन थालेको छ । ‘कि काम देऊ, कि माम देऊ’ भन्न थालेका छन्,’ उनले थपे ‘कोभिडका कारण वीरेन्द्रनगरमा भइरहेका सबै विकासे काम, अन्य ज्यालादारी काम रोकिएका कारण उनीहरुसँग बचत रकम सकिएको पाएको छु । त्यस्ता गुनासाहरु दिनदिनै बढिरहेका छन् ।’

उनले आफूले आफ्नो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ती सबैलाई सामाजिक दुरी सहित काममा लगाउने योजना बनाएको बताए । ‘मैले प्रधानमन्त्री रोजगार कार्यक्रममा सबैलाई लगाउन खोजेको छु तर प्रधानमन्त्री रोजगार कार्यविधिले भने सूचिकृत भएका युवालाई मात्रै काममा लगाउने भन्ने कानून बनाएको छ,’ उनी भन्छन्, ‘महामारीको समयमा यो नीति सहि भएन । काम हुँदा हुँदै सूचीकृत भएकाले मात्रै पाउने भन्दा पनि जो भोकै छन्, जसले काम र माम पाएका छैनन्, उनीहरु सबैलाई रोजगारी दिनुपर्ने योजना बनाएको छु । यसबारेमा म नगरप्रमुख, उपप्रमुखसँग सल्लाह गर्दैछु ।’

कोरोनाका कारण उनको वडामा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार वडा नं. १ मा सक्रिय संक्रमितको संख्या १ सय ९८ जना रहेको छ । ‘ती सबै संक्रमितको घरमा पुग्ने अभियान सुरु गरेको छु । आजसम्म ५१ घरमा पुगिसकेका छौं । संक्रमितको घरमा पुगेर उनीहरुलाई हौसला दिने, प्रतिव्यक्ति दश वटाका दरमा अण्डा दिने, औषधिहरु दिने काम गर्दै आइरहेका छौं,’ उनी भन्छन् । त्यसका लागि वडालाई नेपाल रेडक्रस सोसाइटीलगायत केहि संस्थाले सहयोग गरेका छन् ।

वडामा विपद कोष स्थापना गरिएको छ । ‘अहिले कोषमा हामीसँग चार लाख रुपैयाँ छ । गरिब, मजदुर, ज्यालादारी नागरिक भोकै पर्ने अवस्था आएको खण्डमा त्यहि रकम वितरण गर्छौं,’ उनी भन्छन्, ‘सबैलाई यति अनुरोध छ कि अत्यावश्यक काम नपरी घरबाट कोही पनि बाहिर ननिस्कनुस ।स्वास्थ्य मापदण्ड अपनाइदिनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर