प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै – Nepal Press

प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै

जनकपुरधाम । प्रदेश २ सरकारले पत्रकारलाई अवैधरूपमा निर्माण भएको ह्याण्ड स्यानिटाइजर वितरण गरेको पाइएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिको पहलमा प्रदेश सरकारले ८ सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

दुई वटा ह्याण्ड स्यानिटाइजर, मास्क, फेस सिल्ड र ग्लोब्ससहितको स्वास्थ्य सामग्री प्याकेजमा राखेर बाँडिएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले चार दिन अगाडि नेपाल पत्रकार महासंघ प्रदेश कमिटीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको र अहिले महासंघले जिल्ला शाखामार्फत् पत्रकारहरूलाई वितरण भइरहेको छ ।

उक्त प्याकेजमा पर्साको आरसीपी इन्डस्ट्रिजमा उत्पादित १ सय एमएलको २/२ वटा ह्याण्ड स्यानिटाइजर राखिएको छ । जुन ह्यान्ड स्यानिटाइजर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन भएकोबारे स्पष्ट छैन । औषधी व्यवस्था विभागले जारी गरेको सूचना अनुसार आरसीपी इन्डस्ट्रिज कुनै निकायमा दर्ता छैन ।

औषधी व्यवस्था विभागले ६१ उद्योगको ह्याण्ड स्यानिटाइजर मात्र प्रयोग गर्न भनेको छ । तर, त्यो सूचीमा प्रदेश सरकारले पत्रकारलाई बाँडेको स्यानिटाइजर उत्पादन गरेको आरसीपी इन्डस्ट्रिज सूचिकृत छैन । दर्ता नरहेका कम्पनीले मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएकोले त्यस्तो स्यानिटाइजर खरिद बिक्रीमा विभागले रोक लगाएको छ ।

औषधि विभागबाट अनुमति नलिएको उद्योगको ह्याण्ड स्यानिटाइजर प्रदेश सरकारले पत्रकारलाई बाँडेर स्वास्थ्यसँग खेलवाड गरिरहेको स्पष्ट हुन्छ । तर, यस विषयमा धेरै पत्रकारहरू नै अनभिज्ञ देखिएका छन् । पत्रकार महासंघ प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘हामीलाई उपलब्ध गराएको स्यानिटाइजर गुणस्तरहीन हो वा होइन् थाहा भएन । म यसबारे बुझ्छु ।’

पत्रकारलाई उपलब्ध गराएकै स्यानिटाइजर प्रदेश सरकारले कर्मचारी, स्वास्थ्यकर्मी र अन्य सम्बन्धित निकायलाई पनि वितरण गरेको छ । आश्चर्य त के भने अहिलेसम्म उक्त ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन हो कि होइन भन्ने कुरामा कसैको ध्यान छैन । स्वास्थ्यजस्तो जटिल विषयमा प्रदेश सरकार जस्तो जिम्मेवार निकायको उदाशीनता स्पष्ट रूपमा झल्किन्छ ।

गुणस्तरहीन स्यानिटाइजर वितरण गरेको विषयमा बुझ्न प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री यादवसँग पटक-पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर