युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत – Nepal Press

युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

ब्रसेल्स । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड-१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।

ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड-१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् ।

नेताहरुले कोभिड-१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् । उनीहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कोभाक्स मार्फत न्यून एवं मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड-१९ को खोप उपलब्ध गराउने योजना छ ।

तर विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भारतमा कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभाक्सको कार्यक्रममा असर परेको थियो ।

संयुक्तराज्य अमेरिका, बेलायत र इजरायलमा ठूलो संख्यामा खोप दिइए पनि अन्य युरोपेली मुलुकमा खोप लगाउनेक्रम ज्यादै सुस्त भएको भन्दै आलोचना भए पनि अहिले युनियनमा आबद्ध मुलुकमा खोप लगाउने कार्यमा व्यापक प्रगति भएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनले आगामी मे महिनाभित्रै युरोपेली मुलुकमा ३० करोड डोज खोप उपलब्ध हुने जानकारी गराएकी थिइन् । यस खोपबाट युनियनमा आबद्ध मुलुकका करिब ४५ करोड जनसंख्यामध्ये करिब ४६ प्रतिशतलाई कम्तीमा एक डोज खोप दिन पुग्नेछ ।

पश्चिमा मुलुकमा खोप अभियान तिब्र गतिमा अगाडि बढे पनि कमजोर मुलुकहरुमा खोपको उपलब्धता ज्यादै न्यून छ । गत साता रोममा आयोजित स्वास्थ्य सम्मेलनमा इटालीका प्रधानमन्त्री मारियो ड्रागीले विश्वका १८० मुलुकमा करिब डेढ अर्ब डोज खोप दिइएको जानकारी गराएका थिए । उक्त खोपमध्ये न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत खोप दिइएको छ जबकी विकसित मुलुकमा झण्डै ८५ प्रतिशतलाई खोप दिइएको छ ।

कमजोर राष्ट्रहरुलाई खोप अनुदानमा दिइनुका साथै युरोपेली नेताहरुले स्थानीय स्तरमै खोप उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए ।

तर युरोपेली युनियनले कुन खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन लागेको हो भन्ने बारेमा केही खुलाइएको छैन । युरोपेली युनियनले हालसम्म फाइजर, मोडर्ना, अस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोपलाई युरोपेली मुलुकका लागि अनुमति दिएको छ । संयुक्तराष्ट्र अमेरिकाले यसै महिनाको शुरुमा अस्ट्राजेनिका खोप आठ करोड डोज कमजोर मुलुकहरुलाई प्रदान गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर