माओवादी नेतामाथि गोली हानेको आरोपमा पक्राउ – Nepal Press

माओवादी नेतामाथि गोली हानेको आरोपमा पक्राउ

रुपन्देही । बुधबार राति कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सात जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय इयाज अख्तर मुसलमान घाइते भएका थिए । उनीहरु दुवैको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार गर्दा घाइते भएको प्रहरीको अनुमान छ ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर