कथा : लालटिन काका

लालटिन काकाको सपना र हाम्रो बौद्धिक जमातको कुण्ठा

अहिले संजालमा छिर्दा यस्तो लाग्छ कि मान्छेहरू कतिबेला के आउछ र त्यसको प्रतिक्रिया दिउँ भनेर कुरेर बसिरहेका छन् झै लाग्छ । अनि एउटा केही कुरा पस्कियो कि गिद्दले सिनो लुछे जसरी उनीहरू हो र होइन भनेर त्यसलाई तत्कालै ठुँगेर झुत्रो बनाउन तयार भएर बसेका छन् झै लाग्छ ।

सरकारले विकासको काम ल्यायो झम्टेकै छ । कोभिडको सुइ ल्यायो झम्टेकै छ । अर्को केही भयो झम्टेकै छ । यो देखेर यस्तो लाग्छ कि सरकार चुप बस्नुपर्ने थियो, सायद ।

स्वाभाविकै होला अहिलेको सञ्चारको प्रविधियुक्त अवस्थामा आइपुग्न मान्छेलाई लामो समय लागेको थियो । विकासको पनि चरण हुन्छ होला । विस्तारै चढ्दै जाने होला । तर, यहाँ त जान्ने बुझ्नेहरू नै १० वर्षमा पनि नसकिने काम देखाएर किन गरिनस् भनेर झम्टेको देख्छु ।

हामीमा सुझ-बुझ किन घटेको होला ? केही दिन अघि काठमाडौंमा मेलम्ची आउँदा भएको विरोधले त म जस्ता धेरैलाई चकितै बनायो । कति धेरैको खुसीको खबरले धेरैलाई किन निन्द्रा नै नलाग्ने बनायो ? यो दृष्यले मलाई एउटा ‘लालटिनको कथा’ याद आयो ।

०००

एकपटक श्याम नाम गरेका एक जना कामको सिलशिलामा देश बाहिर थिए । उनले उतैबाट आउदा लालटिन किनेर ल्याए । त्यो बेला लालटिन किनेर ल्याउनलाई बजारमा पाइने चिज थिएन । त्यसैले गाउँमा कसैकोमा लालटिन थिएन । त्यसैले गाउँमा उनी त लालटि नै नामबाट बोलाइन थालिए । उनलाई कसैले लालटिन काका, लालटिन मामा जस्ता नाम बाट बोलाउँथे । गाउँमा उनको लालटिनको चर्चा चुलिउको थियो ।

बत्ति त हावाले पनि निभ्थ्यो, बाहिर राख्न सकिँदैनथ्यो, अनि उति चहकिलो पनि बल्दैनथ्यो । लालटिन कहिले बाहिर, कहिले पालीमा, कहिले भान्साकोठामा त कहिले सिकुवामा लगेर बाल्थ्यो । लालटिनले उनको घर धपक्कै बलेको देख्थे गाउलेहरू । साँझ परेपछि गाउँका सबैका आँखा तिनै लालटिन बाको घर तिर हुन्थ्यो ।

गाउँमा भएका पञ्च भलद्मी भन्दा यी लालटिन बाल्ने मान्छेको चर्चा धेरै हुन थाल्यो । यो देखेर सबैलाई डाहा लागेको थियो । गाउँका पञ्च भलाद्मी पनि यति कुण्ठित भए, तैले कसरी कहाँबाट ल्याइस भनेर सोध्ने र ल्याउने पहल गर्न पनि सकेका थिएनन् । बस्, लालटिन बलेको देखेर मुर्मुरिने मात्र थिए ।

यसैबीच एक दिन पञ्च भलाद्मी सहित गाउँका सबै एकठाउँ भेला भए । गाउँका सबै मान्छे एकै ठाउँ जोडिदा पनि श्यामबहादुर या लालटिन काका भने बोलाइएका थिएनन् । यसले उनीहरू श्यामबहादुरको लालटिनले कति जलेका थिए भनेर प्रष्ट देख्न सकिन्थ्यो ।

बिस्तारै त उनीहरू पनि लालटिन ल्याउन सक्थे तर त्यो धैर्यता कति पनि थिएन, उनीहरूमा । बस, उनीहरू उसको घरको लालटिनमै जलेर खाक भएका थिए । साँझमा भएको त्यो भेलामा लालटिन काकाको घरमा जब लालटिन बल्यो तब सबै जुरुक्क उठे ।

अनि त्यो बीचबाट एक्कासी मुखिया चिच्याए- हाम्रोमा लालटिन ल्याउन सक्ने कोही छ ? छेउमै उभिएका युवाले भने लालटिन ल्याउन नसकेर के भो त्यसको लालटिन नै हाम्रो समाजको समस्या भएपछि त्यसको लालटिन त फुटाउन सकिन्छ नी ।

अन्तत भेलाको निस्कर्ष नै त्यही हुन्छ र पञ्चभलाद्मी सहितको टोली लालटीन काकाको घर पुग्छन् र बलिरहेको लालटिन पालीबाट तानेर लात्तीले हानी-हानी फुटाउँछन् । लालटिन फुटाएर समाजमा क्रान्ति भएको घोषणा पनि गर्छन् ।

यो सबै हेरिरहेका श्यामबहादुर अर्थात् लालटिन काकाले भन्छन्- यो एउटा लालटिन मात्र फुटेको होइन गाउँको हरेक मान्छेको आशा पनि फुट्यो । यहि लालटिन बालेर भोलि गाउँ उज्यालो पार्ने योजनामा थिएँ ।

लालटिन फुटाउनु भन्दा गाउँभरीका छोरीलाई पढ्न सक्ने ठूलो लालटिन कसरी बनाउने भन्ने मेरो योजना सुन्न मलाई पनि भेलामा बोलाउनु भएको भए हुन्थ्यो नि । उनले यसो भन्दा सबै के गर्ने के गर्ने भनेर हेरिरहन्छन् । र, कोही केही नभनी सेलाएको जस्तो गर्दै फर्कन्छन् ।

जाँदै गरेका पञ्च भलाद्मीलाई लालटिन काकाले भन्छन्- तपाईंहरू त गाउँको विकासमा लाग्नु भएको होइन ? एउटा कुरा थाहा रहेनछ तपाईहरुलाई, निभाएर होइन बालेर मात्र उज्यालो हुन्छ । एक पछि अर्को थप्दै जाँदा गाउँ भरी लालटिन हुन्छ । फुटाउनु, उडाउनु, भत्काउनु, विरोध गर्नु समाधान होइन नि । लालटिन थप्दै जाउँ बरू, तर, बलेको लालटिन निभाउने होइन । तर, कोही केही नबोली फर्कन्छन् ।

मलाई यो कथाले काठमाडौंमा मेलम्ची आउँदा, घरहरा बन्दा, ठूला विकासका संरचनाहरू बन्दा, एयरर्पोट बन्न लाग्दा विरोधमा उत्रेको तिनै बौद्धिक जमातको याद आउछ । यिनीहरू बल्ल-बल्ल गाउँमा ल्याइएको एउटा बत्ति पनि निभाउने प्रयासमा छन्, यतिबेला ।

किनकि उनीहरूलाई यो सह्य भएको छैन । त्यसैले त म भन्छु गाउँमा बल्दै गरेका एउटा-एउटा उज्यालालाई निभाउँन नलागौं बरु थपौं र गाउँ नै उज्यालो बनाऔं ।

प्रतिक्रिया

4 thoughts on “लालटिन काकाको सपना र हाम्रो बौद्धिक जमातको कुण्ठा

  1. यथार्थ चित्रण

  2. मार्मिक छ , होस् खुलोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *