ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन – Nepal Press

ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन

‘एकीकरणको विरासतलाई अघि बढाउँदे नयाँ स्वरुपमा एमाले पुनःस्थापना भएको छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जेठ ३ गते एकीकृत भएको नेकपा एकीकरणलाई कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको प्रष्ट पारेका छन् ।

२९ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा ओलीले लामो वक्तव्य जारी गर्दै एमाले आज पनि उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् ।

ओलीले आफूहरु कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प समेत गरेका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको मान्यतामा आफूले पार्टीलाई अघि बढाउने बताएका छन् ।

ओलीको वक्तव्यमा भनिएको छ, ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

ओलीले वक्तव्यमा जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमै कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर