भदौ १६ गतेसम्म नेपालमा ४२ हजारको मृत्यु हुनसक्ने वासिङ्टन युनिभर्सिटीको प्रक्षेपण – Nepal Press

भदौ १६ गतेसम्म नेपालमा ४२ हजारको मृत्यु हुनसक्ने वासिङ्टन युनिभर्सिटीको प्रक्षेपण

काठमाडौं । कोभिड-१९ महामारीको कारण आगामी भदौ १६ गते (अगस्ट १) सम्म नेपालमा ४२ हजार ५३९ जनाको मृत्यु हुने प्रक्षेपण युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिनले गरेको छ ।

उक्त विश्वविद्यालयको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आइएचएमई)का अनुसार कोभिडको अवस्था खराब भए नेपालमा त्यति संख्यामा मानिसको ज्यान जाने छ ।

दैनिक मृत्यु, अस्पतालको स्रोत साधन, दैनिक संक्रमण र परीक्षण, मास्कको प्रयोग र सामाजिक दूरी पालनाको वर्तमान अवस्थालाई अध्ययन गर्दैै उक्त निकायले सो प्रक्षेपण गरेको हो ।

यदि उपलब्ध जनसंख्याले मास्कको अनिवार्य प्रयोग गर्ने हो भने उक्त कूल मृत्युलाई ४ हजारले घटाउन सकिने पनि जनाइएको छ ।

दैनिक मृत्युलाई आधार मान्दा जेठ १६ गते (मे ३०) मा सर्वाधिक ८७० जनाको मृत्यु हुने प्रक्षेपण पनि उक्त निकायले गरेको छ । अर्थात, जेठ १६ लाई भाइरसको दोस्रो लहरको पिक (उचाइ) मानिएको छ ।

जेठ ११ गतेसम्म १ लाख ७ हजार थप बेड आवश्यक पर्न सक्ने आंकलन पनि गरिएको छ । सोही मितिमा २१ हजार आइसीयू बेड पनि चाहिन सक्ने अध्ययनको निष्कर्ष छ ।

बैशाख ३० गते विहिबारसम्म नेपालमा भाइरसका कारण ४ हजार ४६६ जनाको मृत्यु भएको छ । ४ लाख ३१ हजार जना संक्रमित भएका छन् । सो मितिसम्म सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर