उपप्रधानमन्त्री र राजदूत बेरीबीच संवाद : अमेरिकाले अर्को सातादेखि नेपाललाई स्वास्थ्य सामाग्री आपूर्ति गर्ने – Nepal Press

उपप्रधानमन्त्री र राजदूत बेरीबीच संवाद : अमेरिकाले अर्को सातादेखि नेपाललाई स्वास्थ्य सामाग्री आपूर्ति गर्ने

काठमाडौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाभाइरसविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोग आपूर्तिका लागि कूटनीतिक पहल तीव्र पारेका छन् ।

यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ ।

संवादका क्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

तीव्ररुपमा फैलिएको भाइरस संक्रमणलाई रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको पोखरेलले बताएका थिए ।

अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए ।

यसैगरी, जरुरी भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको पोखरेलले राजदूतसँग बताए ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिए । तर, के-के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने राजदूतले जानकारी दिए ।

‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’ उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स सुविधा अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर