आवश्यकता भन्दा बढी स्टक राखिएपछि लुम्बिनीमा अक्सिजन अभाव – Nepal Press

आवश्यकता भन्दा बढी स्टक राखिएपछि लुम्बिनीमा अक्सिजन अभाव

रुपन्देही । कोरोना संक्रमणको केन्द्र बनेको लुम्बिनी प्रदेशमा गम्भीर प्रकृतिका बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन थालेको समाचार बाहिरिन थालेपछि संक्रमितहरुलाई थप त्रास बढ्न थालेको छ ।

विशेषगरी होम आइसोलेसनमा बसेकाहरु र केही संक्रमणको त्रासका कारणले धमाधम अक्सिजनका सिलिन्डर खरिद गरेर घरघरमा स्टक राख्न थालेपछि लुम्बिनी प्रदेशका ठूला तथा साना अस्पतालहरुमा अक्सिजन अभाव देखिए थालेको छ ।

गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरुले बताएका छन् ।
यो क्षेत्रमा धेरै संक्रमितको उपचार गरिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको बिहीबार सार्वजनिक अपील गरेको छ ।

यससँगै बाँकेको कोहलपुर मेडिकल कलेज, दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल, रुपन्देहीको भैरहवास्थि कोरोना विशेष अस्पतालल र युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण अब बिरामी भर्ना लिन नसक्ने सूचना प्रकाशन गरिसकेका छन् ।
यी अस्पतालहरुमा संक्रमितको संख्या बेड संख्याभन्दा दोब्बर हुनु र अक्सिजन अभावमा उपचार प्रभावित हुने सूचना सार्वजनिक भएपछि सबैमा त्रास देखिएको छ ।

अहिलेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर खपत भएको छ । यो अस्पतालमा बनाइएको अक्सिजन प्लान्ट बिग्रेकाले सप्लायर्सले मागेअनुसार अक्सिजन उपलब्ध गराउन नसक्दा यस्तो अवस्था सिर्जना भएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।

उनले गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले अक्सिजनको खपत धेरै भएको र अस्पतालभित्रै रहेको अक्सिजन प्लान्ट मर्मत भइरहेको बताए । ‘अस्पतालमा दैनिक ३ सय सिलिन्डरसम्म अक्सिजन सप्लायर्सबाट प्राप्त हुने गरेको छ । मौज्दात अक्सिजन सकिन थालेकाले कोरोना संक्रमित बिरामीको उपचारमा समस्या आउने भएकाले हामीले सबैलाई सचेत बनाएका छौं, समन्वयका लागि आग्रह गरेका छौं’ खनालले भने ।

केही सातायता रुपन्देहीमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ त्यसमाथि पनि यो अस्पताल रहेको बुटवल उपमहानगर सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसका साथै नवलपरासी, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठानलगायतका जिल्लाबाट बिरामी आउने भएकाले बिरामीको चाप बढेको मेसु खनालको भनाइ छ ।

यो अस्पतालमा नेपालगञ्जस्थित एचओ कम्पनीबाट अक्सिजन खरिद गर्दै आएकोमा नपुुगेपछि अहिले रुपन्देही धकधईस्थित शंकर अक्सिजन र लुम्बिनी अक्सिजनबाट ल्याउन थालिएको छ ।

तर नेपालगन्जबाट आउन छाडेपछि समस्या भएको हो । अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्ट मर्मत भइरहे पनि उत्पादन शुरु भइसकेको छैन । लुम्बिनीमा अक्सिजन प्लान्ट शुरु भए पनि दैनिक २० सिलिन्डरमात्रै उत्पादन हुने हुँदा वैकल्पिक व्यवस्थाका लागि योजना बनाउनुपर्ने नै हुन्छ ।

प्रदेशका अधिकांश कोरोना संक्रमित बिरामी उपचाररत अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । रुपन्देहीको भैरहवास्थित भिम अस्पताल, बाँकेको भेरी अस्पताल, दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजनको अपुुग हुन थालेको ती अस्पतालले जनाएका छन् ।

कोरोना महामारीको केन्द्र बनेको लुम्बिनीका धेरै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट भएर पनि त्यसबाट उत्पादन गर्ने योजना बनाउन सकेका छैनन् । केही अस्पतालमा रहेका अक्सिजन प्लान्टको मर्मत नहुँदा तीन अस्पतालमा रहेका अक्सिजन प्लान्ट बिग्रिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको हो ।

लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले महामारी केन्द्र बनेको लुम्बिनीमा बेड र अक्सिजनको अभाव भएकाले यी दुवैको समस्या समाधान गर्ने र चार वटा मेडिकल कलेजमा कम्तीमा ५० प्रतिशत कोभिड बिरामी अनिवार्य राख्नुपर्ने नियम बनाइएको बताए । मेडिकल कलेजहरुमा आईसियू, एचडियू र अक्सिजनसहितको बेड हुने भएकाले बेडको समस्या हुन नदिने र सबै क्षेत्रको समन्वयमा निकास खोजिने बताए ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले अक्सिजन अभाव भएकाले तत्काल बिग्रिएका अक्सिजन प्लान्टको मर्मत र अक्सिजनका सिलिन्डर अनावश्यक रुपमा घरमा नराख्न आग्रह गरिएको बताएका छन् । ‘वितरण गरिएका सिलिन्डरको संकलन, कम्पनीमा उत्पादन बढाउन पहल र अक्सिजन प्लान्टको क्षमता वृद्धि गर्ने गरी तयारीमा जुटेका छौं’ देवकोटाले भने ।

लुम्बिनीमा रुपन्देहीमा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल तथा देवदह मेडिकल कलेज, बाँकेमा नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर), र पाल्पामा लुम्बिनी मेडिकल कलेज गरी चार वटा ठूला मेडिकल कलेज रहेका छन् ।

रुपन्देहीमा निजी क्षेत्रको ठूलो अस्पतालका रुपमा रहेको र कोरोना संक्रमितको उपचार गर्दै आएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताललले पनि अक्सिजनको अभावले बिरामी भर्ना कटौती गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

दैनिक ५ सयभन्दा बढी अक्सिजन खपत भएको भन्दै अक्सिजन सिलिण्डरको व्यवस्था गर्न प्रदेश सरकार, स्थानीय तह तथा प्रशासनलाई गुहारेको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै दैनिक ८ सय सिलिन्डर अक्सिजन आपूर्ति गर्न अनुरोध गरेको हो । मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको चापलाई मध्यनजर गरी सञ्चालनको तयारीमा रहेको ६० बेडको एचडियू पनि अक्सिजनकै कारण सञ्चालन गर्न नसक्ने कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर)ले पनि अक्सिजनको अभावले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएको छ । कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले विज्ञप्ति जारी गर्दै अक्सिजन नभए कोभिडका बिरामी लिन नसक्ने जनाएको हो । अक्सिजन आपूर्तिका लागि अस्पतालले यही वैशाख १९ र २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोध गरिसकेको छ ।

मुख्यमन्त्री पोखरेलको अपील

लुम्बिनीमा अक्सिजनको अभाव चुलिँदै गएपछि मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अपील गरेका छन् ।

मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको अपीलमा ‘अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौं’ उल्लेख छ ।

अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने

रुपन्देहीमा रहेका तीन वटा अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने भएको छ । उत्पादन भएका अक्सिजन अन्यत्र जाने खतरालाई रोक्न रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास प्रालि, लुम्बिनी अक्सिजन इन्डष्ट्रिप र लुम्बिनी ग्यास प्रालिमा प्रहरीलाई निगरानीका रुपमा ग्राखिने जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

बैठकले औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन बन्द गर्ने, स्थानीय स्तरका अस्पतालमा आवश्यकताका आधारमा मात्र सप्लाई गर्ने र घरघरमा लैजानेलाई पनि मापदण्ड बनाएर आवश्यकताका आधारमा मात्र दिइने निर्णय गरेको छ । यी तीन वटा उद्योगले दैनिक ११ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछन् ।

बुटवल अक्सिजन बैंकमा अटो एसोसिएसनको सहकार्य

बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले ३५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे । सुवेदीले जनस्वास्थ्यको संवेदनशील अवस्थामा अरु सामाजिक संघसंस्थालाई पनि महामारीविरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर