घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज ! – Nepal Press
अबिच्युरी

घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !

घुम्तीमा नआऊ है
आँखा तिमी जुधाउन
बाँधिए माया फेरी
गाह्रो हुन्छ फुकाउन…

काठमाडौं । रत्नशमशेर थापाका शब्द र प्रेमध्वज प्रधानको आवाजमा बुनिएको यो सिर्जना नेपाली सांगीतिक आकाशमा गुञ्जिरहनेछ । यो ‘ब्लकबस्टर’ गीतले सन् ७० को नेपाली समाजलाई ‘रोमान्टिसाइज’ तुल्याएको मात्र थिएन, संगीत र प्रेमका दुई आयामलाई जोडिदिएको थियो ।

सोही कालजयी गीतका गायक प्रेमध्वज प्रधान अब घुम्तीमा भेटिनेछैनन् । आउने असारमा ८४ औं बर्थडे मनाउने तयारीमा रहेका प्रेमध्वजले विहिबार काठमाडौंको एउटा अस्पतालमा अन्तिम सास लिए । जीवनका ८३ बसन्त बाँचेका प्रेमध्वजले नामजस्तै जीवनमा प्रेमका ध्वजाहरु फैलाए र आफ्ना लाखौं प्रशंसकको मनमा बाँचिरहनेछन् ।

प्रेमलाई जीवन गहिराइमा अनुभूति गराउने खालका सशक्त सांगीतिक सिर्जना पस्किएका प्रेमध्वजको निधनसँगै नेपाली संगीतमा एउटा युगको अन्त्य भएको छ । सफ्ट मेलोडी अर्थात मखमली स्वरका लागि चिनिएका प्रेमध्वजको तुलना नेपाली सुगम संगीतमा तलत महमुद, मेहदी हसनसँग हुनेगर्छ ।

सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ को जुन ६ मा जन्मिएका प्रेमध्वजको सांगीतिक यात्रा अनुकरणीय छ । मणिकरत्नसँग उनले काठमाडौंमा गरेको संघर्ष, बलिउड नगरी बम्बैको यात्रा, त्यसपछि फर्किएर नेपाली फिल्म उद्योगमा गरेको संघर्ष र हासिल गरेको सफलताका किस्सा निकै रोचक छन् ।

काठमाडौंमा घर नभएकालाई छोरी नदिने भएकाले उनका जमिनदार बाजे उत्तरध्वजले बांगेमुढाको नघलः टोलमा घर किनेका थिए राणाकालमा । जिजुबाजे नारायणकृष्ण र बाजे शाष्त्रीय संगीतका सौखिन थिए । उनका बाबु र आमा दुबै कलाकार थिए । असनमै हुर्किएकी उनकी आमा १० वर्षको उमेरमै नारायणहिटी दरबार छिरेकी थिइन् । राजा त्रिभुवनकी प्रियपात्र रहेकी उनकी आमाले दरबारमै तबला र गायनको शिक्षा पाएकी थिइन् । रेडियो नेपालमै उनले गीत गाएकी थिइन् ।

दरबारमै उनका बाबु रत्नध्वज प्रधान र उनकी आमा प्राणदेवी तुलाधरबीच भेट भयो र सोही क्रममै दुबै मायामा बाँधिए । बाजेको इच्छाविपरित ती दुबैले प्रेमविवाह गरेकाले पे्रमध्वजको बाल्यकाल सुखद हुनसकेन । किनभने प्रधान र तुलाधरबीच त छोएको नखाने सम्मको जातिय छुवाछुतको अवस्था त्यतिबेला थियो । राजा जुद्धशमशेरले उनका बुवा रत्नध्वजलाई हनुमानढोकामा बोलएर सम्बन्ध विच्छेद गर्न लगाएको सम्झन्छन् प्रेमध्वज । त्यसपछि उनी आमासँग डेरामा बस्न थाले ।

आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए ।

आमासँगै उनले त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन सिके । सात आठवर्षको उमेरमा उनले अक्षर चिन्न थाले । नाचगान सिकेका प्रेमध्वजले २००९ सालमै रेडियो नेपालमा स्वर परिक्षा दिए । ‘याद कसैको आइरहन्छ यो अँधेरी रातमा’ उनको पहिलो रेडियो नेपालमा रेकर्ड भएको गीत थियो । दुईवर्ष भारतमा हराएका प्रेमध्वज काठमाडौं फर्किएर पद्मोदय स्कुलमा भर्ना भए र एसएलसी पास गरे । इन्जिनियर बनाउने बाबुको इच्छा भएपनि उनले त्रिचन्द्रमा विज्ञान पढे । हैजाका कारण परीक्षा छुटेपछि उनले सरस्वती कलेजबाट आइए र बीए गरे ।

सन् २०१८मा उनले गोरेट त्यो गाउँको, माया नमार मायालु गीत रेकर्ड गरे । रत्न रेकर्डिङ स्थानले त्यतिबेला प्रेमध्वजका १२ गीत निःशुल्क रेकर्ड गरिदिएको थियो । रेडियो नेपालमा ३४० आधुनिक गीत रेकर्ड गराए उनले । राष्ट्रिय गीत, नेवारी गीत र भजन विधामा उनले गीत गाए । नेवारी भाषाको ‘बाला बाला चिगु मिखाः’ रक एन्ड रोलमा गाए उनले । उनले गाएको ‘राजमती कुमती’ हिट गीत हो । बच्चुकैलाश, नारायणगोपल र प्रेमध्वज मात्रै त्यतिबेला हिट गायक थिए । २०२३ मा माइतीघर फिल्मको छायांकनका लागि माला सिन्हा र संगीतकार जयदेव काठमाडौं आएका थिए । सोही बेला उनले टीमसँग भेटेर माइतीघर फिल्ममा गीत गाउन नाम लेखाए । अफिसबाट एक महिने बिदा लिएर उनी गीत गाउन मुम्बई हानिए ।

आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए । मालाको अनुरोधमा सत्यकामना फिल्म अवार्डमा गीत पनि गाए र चर्चा बटुले । मुम्बइमा रहँदा संगीतकार मनोहरीले प्रेमध्वजका १० गीत रेकर्ड गराए ।

सोही बेला रेकर्ड भएको हो ‘घुम्तीमा नआऊ है, टाढा टाढा, भैगयो फेरी, तारा मात्र होइन तिमीलाई । माइतीघरपछि प्रेमध्वजले अन्याय, मायालु, बदलिँदो आकाश, फेरी भेटौंला, जीवनरेखासहितका १२ फिल्ममा पाश्र्वगायन गाए । फागुन २०२८ मा उनले महावीर फुटबल क्लबकी किरणकुमारी श्रेष्ठलाई विहे गरे । ३३ वर्षे प्रेमध्वजले १६ वर्ष कान्छी किरणकुमारीसँग घरजम गरेका थिए ।

प्रेमध्वजका दुई सन्तान छन् । दुबै छोरा अमेरिकामा । जेठा छोरा प्रसन्नध्वज अमेरिकामा सफ्टवेयर इन्जिनियर हुन् भने गायक पनि । अर्का छोरा इनर्जी अमेरिकी लिगमा फुटबल खेल्ने खेलाडी हुन् ।

नेपालमा पहिलोपटक गीतार बजाउने गायकको रुपमा पनि प्रेमध्वज चर्चित छन् । उनले आफ्नोकालका स्टाइलिस र संगीतमा नयाँ प्रयोग गर्ने जमर्को गर्थे । प्रेमध्वजलाई जान्नेहरु रोमान्टिक किङ र गोल्डेन भ्वाइसको रुपमा उपमा दिन्छन् । उनले नेपालमा पहिलोपटक गीटार बजाए । अमेरिकबाट आएका चारजना फोक सिंगरहरुले नेपालमा गीटार बजाएको देखेर उनलाई पनि बजाउन मन लाग्यो । इश्वर नाम गरेका आफ्ना दाईलाई २ सय रुपैयाँ दिएर उनले गिटार मगाए । रेडियो नेपालमा रहेका रामशरण दर्नालले ४ महिना गिटार सिकाए प्रेमध्वजलाई । २०२० सालमा राष्ट्रिय नाचघरमा भएको आधुनिक गीत प्रतिस्पर्धामा उनले पहिलोपटक गिटार बजाएर गीत गाए । उनको गायकी सुनेपछि राजा महेन्द्रले सानो मेडल लगाइदिएका थिए ।

पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

प्रेमध्वज भर्सटाइल अवधारणा राख्ने मान्छे थिए । पछिल्लो छिमलका कलाकारहरु भर्सटाइल हुनुपर्छ भन्ने उनको सोच थियो । हुनसक्छ यही कारण उनले भजन गाए । नेवारी गीत गाए र आधुनिक गीत गाए । जग्गा जमिनलाई लिएर उनको लामै समय मुद्दा चल्यो । मुद्दाको कारण उनले लामो समय संगीतमा समय दिन सकेनन् । जीवनको यो दुःखजिलो क्षणमा उनलाई अमेरिका पसूँ कि भन्ने सोच आयो । तर, उनले हरेश खाएनन् । जेजस्तो दुःख आइपरे पनि उनले नेपालमै रहेर संगीत बाँच । पछिल्लो समय अमेरिकी सपना देख्ने आधुनिक पुस्ताका लागि यो एउटा ठूलो नैतिक र प्रेरणादायी शिक्षा हो ।

संगीतको बदलिँदो आयामप्रति प्रेमध्वजको आफ्नै दृष्टिकोण थियो । उनी भन्थे- पहिले हामी लाइभ गाउँथ्यौं । पहिला सीमित कलाकार थियौं । अहिले लाखौंको संख्यामा पुगिसके । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीतसंगीत राम्रो त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।’ पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

प्रेमध्वज निधन लगत्तै उनीप्रति श्रद्धासुमनका शब्दहरु वर्षिए । लकडाउनको यो मझेरीमा उनी कुनै रकस्टारजस्तै महाप्रस्थानमा निस्किएका छन् । उनको निधनमा पत्रकार विजयकुमार ट्वीट गर्छन् :

तार चुँडियो
झंकार बाँकी छ

शरीर गयो
आवाज अमर छ

सत सत नमन्
प्रेमध्वज दाई !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर