कोरोना परीक्षण प्रयोगशाला : हतारमा शुरुवात, सञ्चालनमा समस्या – Nepal Press

कोरोना परीक्षण प्रयोगशाला : हतारमा शुरुवात, सञ्चालनमा समस्या

रुपन्देही । अघिल्लो वर्ष करोडौं रकम खर्चेर बनाइएकका अधिकांश कोरोना परीक्षण प्रयोगशाला यसपालि काम नलाग्ने भएका छन् ।

गुल्मीको तम्घासमा रहेको प्रयोगशाला बन्द छ । पाल्पाको तानसेनमा रहेको प्रयोगशाला ऋणमा सञ्चालन भइरहेको छ भने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको द्रूत परीक्षण सेवा पनि बन्द अवस्थामा छ ।

दीर्घकालीन योजनाबिना बनाइएका प्रयोगशाला जारी महामारीका बेला बन्द भएपछि स्थानीय आक्रोशित भएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले संघीय सरकारमार्फत संचालनमा ल्याइएको गुल्मीको प्रयोगशाला बन्द भएको सुनेको प्रतिक्रिया दिए ।

उनले नेपाल प्रेससँग भने, ‘जनशक्ति के कति चाहिन्छ भन्ने योजना नै थिएन, मेसिन त दवावमा ल्याइयो तर सञ्चालनको योजना नभएका कारण बन्द हुने नै भए ।’

प्रदेश मातहत रहेका सबै प्रयोशाला संचालनमा भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको दु्रत परीक्षण सेवा भने टिभीको बिरामीलाई हेर्नुपर्ने भएका कारण बन्द भएको हुनसक्ने प्रतिक्रिया उनले दिए ।

सबै प्रयोगाशाला सञ्चालन भए पनि समस्या समाधान नहुने
डा. गिरीले प्रदेशका सबै जिल्लामा जनशक्तिबिना परीक्षण केन्द्र बनाएर मात्र अहिलेको समस्या समाधान नहुने बताए । तर लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले किट अभाव भएका कारण द्रूत परीक्षण सेवा बन्द भएको बताए । उनले छिटै किट व्यवस्थापन गरेर टिभीका बिरामी परीक्षणका लागि यो सेवा अगाडि बढाइने बताए ।

करिब दुई करोड खर्च गरेर गतवर्षको कोरोना महामारी उच्च तहमा पुगेको समयमा असोज महिनामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको सक्रियतामा उनको गृहजिल्लामा गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशाला सुरुवात भएको थियो ।

हिमालय एयरलायन्सको सहयोगमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफै बोकेर यो प्रयोगशाला तम्घास ल्याएका थिए ।

तलब नपाएपछि कर्मचारीले कामै छाडे
रेसुंगा नगरपालिकाको संयोजनमा दीर्घकालीन योजनाबिना शुरुवात गरिएको प्रयोगशालामा कार्यरत १० कर्मचारीले पाँच महिना काम गर्दा पनि पारिश्रमिक नपाएपछि ०७७ फागुन ८ गतेबाट बन्द गरेर काम गर्न छाडे । अहिले यो प्रयोगशाला बन्द अवस्थामा छ । साउन महिनामा शुरु गरेको यो प्रयोगशाला बन्द समयमै परीक्षणको नतिजा आउन सकेको छैन भने करोडौंको लगानी प्रगोविहीन बनेर बसेको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले गुल्मीको जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा जिल्लाका रेसुङ्गा र मुसिकोट नगरपालिकाले १५/१५ लाख र १० वटा गाउँपालिकाले १०/१० लाख आइसोलेसन र प्रयोगशालाका लागि उपलब्ध गराउने सहमतिमा यो योजना अगाडि बढाइएको बताए  ।

योजना बनाए पनि मेसिन दिएपछि प्रदेश र संघीय सरकारबाट व्यवस्थापनका लागि सहयोग नपाएको भुसालको गुनासो छ । तर मेशिन ल्याउँदा सबै सहयोगबाट आएपनि संचालनका लागि किन योजना बन्न सकेन भन्ने प्रश्नको जवाफ उनले प्रष्टसँग दिन सकेनन् ।

‘यसअघिकै तलबभत्ता दिन बाँकी धेरै छ, अब नयाँ योजना बनाएर संचालन गर्नुपर्छ’ भुसालले भने । यो ल्याबबाट पाँच महिनामा २ हजार २ सय पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

असोज १ गतेबाट सञ्चालनमा आएको यो प्रयोगशाला बजेटको अभाव भन्दै बन्द गरिएको छ । प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब-भत्तासमेत पाएका छैनन् ।

जिल्लाका सरोकार पक्षहरुले स्वास्थ्यकर्मीहरुलाई ३० लाख भुक्तान गर्न अझै बाँकी छ । सुरुमा तम्घास अस्पतालमार्फत काममा खटिए पनि नियुक्तिपत्र नहुँदा पछि समस्या भएको ल्याब टेक्निसियन के.पी. भण्डारीले गुनासो गरे । परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाव परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको र नगरपालिकाको पनि दीर्घकालीन संचालनको सोच नभएका कारण बन्द भएको बताए । उनले प्रयोशालालाई गुल्मीकै नमूना योजना बनाएर लैजानुपर्नेमा बन्द गरेर थप अन्यौलता भएको बताए । यसमा कर्मचारी संयन्त्रको पनि दोष रहेको उनको भनाइ छ ।

पाल्पामा पनि उस्तै समस्या
संघीय सरकारसँग पाल्पका नेता सोमप्रसाद पाण्डेलगायतको पहलमा पाल्पाको तानसेन नगरपालिका वडा नं ७ काजीपौवामा रहेको कोरोना परीक्षण प्रयोगशाला संचालनमा पनि उस्तै समस्या देखिएको छ ।

ऋणमा सञ्चालित प्रयोगशालाको मेसिन संघीय सरकारले दिएपनि व्यवस्थापन र सञ्चालन खर्च भने स्थानीय तहबाट हुँदै आएको छ । यो प्रयोगशाला भने पाल्पा अस्पताल मातहतमा छ ।

पाल्पामा केही स्थानीय तहले कबोल गरेको बजेट नपठाएकाले ऋणमा सञ्चालनमा रहेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । ‘जसरी पनि प्रयोगशाला सञ्चालन गर्नेछौं । मैले दैनिकजसो स्थानीय तहसँग हारगुहार गरिरहेको छु । केही दिनमा सहयोग जुट्छ भन्नेमा छु,’ उनले भने ।

सुरुमा १२ जना कर्मचारी रहेकोमा कामको भार कम हुँदै गएपछि र भत्ता नपाएको भन्दै केही कर्मचारीले काम छाडेका कारण अहिले तीन जना प्राविधिक र दुई जना सहयोगीले मात्र काम गरिरहेका छन् ।

ल्याब सञ्चालन गर्न यहाँका केही स्थानीय तहले कबोल गरे अनुसारको बजेट दिएका छैनन् । रामपुर नगरपालिका, माथागढी, निस्दी गाउँपालिकाले १०/१० लाख दिएका छैनन् ।

यस्तै रिब्दीकोट गाउँपालिकाले ५ लाख मात्र दिएको छ । बाँकी स्थानीय तहले भने १०÷१० लाख सहयोग गरेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष पाण्डेयले बताए । ल्याब सञ्चालन गर्न तलब भत्तामा दुई लाख र अन्य खर्च एक लाख रहेको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताए ।

तराई तथा शहरी क्षेत्रमा भएको बन्दाबन्दीका कारण अहिले धेरै सर्वसाधारण पहाडी क्षेत्रमा गएकाले पनि संक्रमणको जोखिम बढेकाले ती क्षेत्रका प्रयोगशालामा चाप बढी हुनेछ ।

रुपन्देहीको अत्याधुनिक सेवा बन्द
रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा गम्भीर प्रकृतिका अन्य रोगीहरुलाई कोरोना परीक्षणका लागि केही महिनाअघि शुरु गरिएको एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परीक्षण सेवा अहिले बन्द रहेको छ ।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परीक्षण सेवा शुरु गरिएको थियो ।

सामान्य पिसिआर परिक्षणको समावधि ढिला हुँदा जटिल रोगको उपचारमा समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट राम्रै सहयोग भएको थियो । बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हँुदा यो धेरै प्रभावकारी भएको थियो तर अहिले किट अभावमा बन्द भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनले अब यसलाई टिभीका बिरामीको परीक्षणका लागि प्रयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर