ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार – Nepal Press

ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रूपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो । खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ रूपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ रूपैयाँ ५ पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख छ ।

बैंकले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटाइजेसनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकताजस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

पछिल्लो ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्बबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड पुगेको छ ।

गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म क्रमिक सुधार भई १.६१ प्रतिशत छ । बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर